सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजना सञ्चालनमा

रामेछाप । रामेछापको लिखु कोरिडोरका सुक्खा क्षेत्रमा खानेपानी पुर्याउन साँघुटार लिफ्ट खानेपानी आयोजनाको काम सञ्चालनमा आएको छ ।

मृत सञ्जीवनी एन एण्ड के जेभीले कामको जिम्मा पाएको सो खानेपानी योजनाको करिब ३० प्रतिशत काम सकिएको निर्माण कम्पनीका सञ्चालक सागर बुढाथोकीले जानकारी दिए । खानेपानी योजनाको लागि ट्याङ्की र फिल्टर ट्याङ्की निर्माणको काम करिब सकिएको उनले बताए । अब मुख्य लाइनको पाइपको काम सुरु हुने बुढाथोकीले जानकारी दिए । कुल १५ करोड ५० लाख रुपैँयाको लागतमा निर्माण हुन लागेको सो योजनाको मेन लाइन ५ किलोमिटर रहेको छ ।

५ स्टेपममा लिफ्ट गरी पानी तानेर डाँडामा पुर्याइ खानेपानी वितरण गरिने सो आयोजना सम्पन्न भएपछि रामेछाप नगरपालिकाको साँघुटार, गोठगाउँ र देउरालीसम्मका उपभोक्तालाई खानेपानीको सुविधा पुग्ने छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको खानेपानी डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको सो आयोजनाको मुख्य लाइनको काम सकिएपछि वितरण लाइनको काम ठेक्का लाग्ने बताइएको छ । सो आयोजना निर्माण सम्पन्न भए पछि सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई सहज रूपमा खानेपानी प्राप्त हुने छ ।

प्रतिक्रिया