काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति, जियोक, नेपाल कानून समाजले आगामी प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण प्रारम्भ गरेका छन् ।
जेन्जी मुभमेन्टको उपलब्धी स्वरुप सुशीला कार्कीको नेतृत्वमा गठित सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गर्ने मुख्य उद्देश्यका साथ आगाडी बढेको र निर्वाचन आयोगले सोही मितिमा निर्वाचन गर्न सम्पूर्ण तयारी गरिसकेको छ ।
राजनीतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारी र प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारी दिई निर्वाचन प्रक्रियामा पूर्ण रुपमा सहभागिता भइसकेको छ । जियोक, नेपाल कानून समाजले विगत २०४८ सालदेखि सम्पूर्ण निर्वाचन– प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय सरकार, संविधानसभाको निर्वाचन पर्यवेक्षण गरी सम्बन्धित निकाय, निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल लगायतलाई सुझाव दिंदै आएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिएकाछन् ।
निर्वाचन पर्यवेक्षणलाई गुणस्तरीय र विश्वसनिय रुपमा सञ्चालन गरी निर्वाचन निस्पक्ष र स्वतन्त्र रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले जियोक/नेपाल कानून समाजले पर्यवेक्षण गर्दै आएको र यस निर्वाचनमा निर्वाचनको तयारी, चुनौतिको अवस्थाको बारेमा अध्ययन गर्नुका साथै निर्वाचन पर्यवेक्षण प्रारम्भ गरेको प्रधानले बताए ।
यसको लागि जिल्लास्तर र पालिकास्तरको पर्यवेक्षकहरु गरी करिव ४०० जना परिचालन गरिएको छ । समाजले सातवटै प्रदेशका ३५ जिल्लाको २५० पालिकामा पर्यवेक्षण गर्ने पर्यवेक्षकहरुलाई प्रशिक्षण दिएपछि उनीहरुले तोकिएका स्थानमा पर्यवेक्षण प्रारम्भ गरेको जनाईएको छ ।
जियोकमा नेपाल कानून समाज, संविधान निगरानी समूह, नेपाल नागरिक मञ्च, पूर्व कर्मचारी सेवा परिषद नेपाल, असहाय सेवा केन्द्र, नेपाल प्रेश इन्ष्टिच्यूट, ग्रामीण विकास प्रतिष्ठान, नेपाल नागरिक समाज, मधेशी नागरिक समाज, फ्रिडम फोरम र मिडिया एडभोकेसी ग्रुप जियोकमा संस्थागत सदस्य रहेका छन् । विभिन्न क्षेत्रमा कार्यरत ११ संस्थाहरुमा पूर्व प्रधानन्यायाधीश, पूर्व प्रमुख निर्वाचन आयुक्त, स्वतन्त्र बुद्धिजीवि, कानूनविद्, पूर्व कर्मचारी, समाजसेवी, मानव अधिकारकर्मी, प्राध्यापक र बरिष्ठ पत्रकारको सहभागिता रहँदै आएको कार्यकारी निर्देशक प्रधानले बताए ।
प्रतिक्रिया