ग्रिनल्याण्डको पिटुफिक स्पेस बेसमा नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान तैनाथ गर्ने तयारी

काठमाडौं । अमेरिकाले नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमाण्डको विमान ग्रिनल्याण्डस्थित पिटुफिक स्पेस बेसमा तैनाथ गर्ने भएको छ ।

डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्याण्डलाई लिएर चुलिँदो तनावका बीच अमेरीकाले यस्तो निर्णय गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिका बीच यस्तो कदम चालिएको हो । एयरोस्पेस डिफेन्स कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार उक्त विमान दीर्घकालदेखि योजनाबद्ध गतिविधिहरूलाई समर्थन गर्न पिटुफिक स्पेस बेसमा पुग्नेछ ।

अमेरिकाका महादेशीय भूभाग र क्यानडास्थित बेसबाट सञ्चालन हुने विमानहरूसँग समन्वय गर्दै एयरोस्पेस डिफेन्स कमाण्डका विभिन्न गतिविधिमा सहयोग  पुर्याईने बताइएको छ । यस कार्यमा डेनमार्क र ग्रिनल्याण्ड सरकारसँग आवश्यक समन्वय तथा कूटनीतिक स्वीकृति लिइएको एयरोस्पेस डिफेन्स कमाण्डले जनाएको छ ।

एयरोस्पेस डिफेन्स कमाण्डले उत्तर अमेरिकाको रक्षा प्रणालीअन्तर्गत अलास्का, क्यानडा र महादेशीय अमेरिकाका क्षेत्रहरूमा नियमित रूपमा दीर्घकालीन र विकेन्द्रित सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ । हालको तैनाथी पनि सोही अभ्यासअन्तर्गत रहेको बताइएको छ । अमेरिकी कदम ग्रिनल्याण्डमा डेनमार्कको नेतृत्वमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यासपछि आएको हो । उक्त अभ्यासमा जर्मनी, स्विडेन, फ्रान्स, नर्वे, नेदरल्यान्ड्स र फिनल्याण्डले सानो संख्यामा सैनिक पठाएका थिए । आर्कटिक क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले गरिएको अभ्यासमा डेनमार्कले अमेरिकालाई पनि सहभागी हुन निमन्त्रणा दिएको थियो । यसैबीच, राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकी राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गर्दै डेनमार्क र अन्य युरोपेली देशहरूमाथि कडा चेतावनी दिएका छन् । उनले ग्रिनल्याण्ड बिक्रीमा सहमति नजनाए डेनमार्कसहित बेलायतलगायत युरोपेली मुलुकहरूमा भन्सार शुल्क ट्यारिफ लगाउने धम्की दिएका छन् ।

ट्रम्पका अनुसार चीन र रूसले ग्रिनल्याण्डप्रति चासो देखाइरहेकाले अमेरिकी सुरक्षाका दृष्टिले यो क्षेत्र महत्त्वपूर्ण बनेको हो । उनले युरोपेली राष्ट्रहरूसँग वार्ताका लागि तयार रहेको जनाए पनि सहमति नभए सन् २०२६ फेब्रुअरी १ देखि १० प्रतिशत र जुन १ देखि २५ प्रतिशतसम्म ट्यारिफ बढाउने चेतावनी दिएका छन् । ट्रम्पले लामो समयदेखि अमेरिकी समर्थन पाएको भन्दै “अब डेनमार्कले ग्रिनल्याण्ड फिर्ता दिनुपर्ने समय आएको छ” भन्ने अभिव्यक्ति पनि दिएका छन् । एएनआई

प्रतिक्रिया