काठमाडौं । हिमाल, ताल, पदमार्गसँगै संस्कृति मिलेर बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गतिविधि बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्र ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रहरूको भ्रमण गरेका छन् । विशेषगरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका आन्तरिक तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । गोसाइँकुण्डको धार्मिक महत्व र लाङटाङको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई आर्कषित गराइरहको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार, साउनदेखि पुस मसान्तसम्म ३२,६७१ जना पर्यटकले क्षेत्रको भ्रमण गरेका छन् । यसमध्ये ५,८८४ जना विदेशी र २६,७८७ जना आन्तरिक पर्यटक रहेका छन् ।
यदि यही प्रवृत्ति कायम रह्यो भने, चालु आर्थिक वर्षको अन्त्यसम्म पर्यटक संख्या ५० हजार नाघ्ने अनुमान गरिएको छ । पर्यटक संख्या बढेसँगै निकुञ्जको राजस्व पनि उल्लेखनीय रूपमा बढेको छ । विदेशी पर्यटकबाट तीन हजार र नेपाली पर्यटकबाट सय रुपैयाँको दरले प्रवेश शुल्क सङ्कलन गरी छ महिनामा मात्रै २ करोड ३९ लाख ८८ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको छ । पर्यटक आगमनले स्थानीय व्यवसाय र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ। होटल, होमस्टे, यातायात, कृषि उत्पादन र स्थानीय श्रमको माग बढेसँगै, रसुवा क्षेत्रको रोजगारी र आर्थिक गतिविधि समेत सक्रिय बनेको छ ।
रसुवा पर्यटनको भविष्य उज्ज्वल देखिएको र निकुञ्ज प्रशासन तथा स्थानीय निकायले सेवा र पूर्वाधारमा निरन्तर सुधार गर्दै दिगो पर्यटन प्रवद्र्धन गर्नुपर्ने सरोकारवालाहरूको निष्कर्ष रहेको छ ।
प्रतिक्रिया