काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् । शुक्रबार संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीले नै तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
डेनमार्कको सरकारी प्रसारक डीआरका अनुसार संयुक्त वक्तव्यमा ग्रीनल्याण्डका दल नेताहरूले अमेरिकाले आफ्नो देशप्रति देखाउँदै आएको असम्मानजनक व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् । “हामी, ग्रीनल्याण्डका राजनीतिक दलका नेताहरू, संयुक्त राज्य अमेरिकाले हाम्रो देशप्रति देखाउँदै आएको बेवास्ता अब अन्त्य हुनुपर्छ भन्ने चाहना पुनः व्यक्त गर्दछौं,” वक्तव्यमा भनिएको छ । दल नेताहरूले ग्रीनल्याण्डले आगामी दिनमा पनि अमेरिका तथा अन्य पश्चिमी मुलुकसँग सहकार्य जारी राख्ने स्पष्ट पारेका छन् । तर ग्रीनल्याण्डको भविष्यसम्बन्धी कुनै पनि काम अन्तर्राष्ट्रिय कानुन र आत्म–शासन ऐनको आधारमा, ग्रीनल्याण्डवासीसँगै छलफल र सहमतिमा अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । उक्त संयुक्त वक्तव्यमा ग्रीनल्याण्डको संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रीनल्याण्ड अमेरिकाले प्राप्त गर्ने विषयमा “सजिलो वा गाह्रो जुनसुकै तरिकाले पनि सम्झौता हुनेछ” भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ग्रीनल्याण्डका जनताको चाहना भए–नभए पनि आफूले यस विषयमा केही गर्ने बताएका छन् । ग्रीनल्याण्ड डेनमार्कको पूर्व उपनिवेश हो । सन् १९५३ मा यो डेनमार्कको राज्यको अभिन्न हिस्सा बनेको थियो भने सन् १९७९ मा आत्म–शासन अधिकार पाएको थियो । यद्यपि, परराष्ट्र नीति र रक्षा सम्बन्धी अधिकार डेनमार्ककै मातहतमा छन् । हाल ग्रीनल्याण्डमा अमेरिकाको एक सैन्य आधार पनि रहेको छ । जनवरी २०२५ मा पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन् । उनले यसका लागि “सैन्य वा आर्थिक दबाब” प्रयोग गर्न सक्ने सम्भावनालाई समेत नकारेका छैनन् ।
प्रतिक्रिया