भक्तपुरको लोकन्थलीस्थित चन्द निवासमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग कुराकानी गरिरहँदा मलाई लाग्यो, कुनै बखत नेपाली राजनीतिमा सरल, इमानदार, देशभक्त सत्यवादीहरु पनि थिए।
अब त्यो युग अन्त्य भयो। विदेशीले नरुचाउने, भ्रष्टाचार र गुटबन्दी नगर्ने, स्वदेशी चिन्तनमा आधारित बनेर राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता र राष्ट्रिय चरित्र बचाउनुपर्छ भन्ने मानिस राजनीतिमा थोरै मात्र छन्।
बैतडीको गाउँमा पचासी बर्ष पहिले सम्भ्रान्त कुलमा जन्मिनु भएका लोकेन्द्रबहादुर चन्द केटाकेटी छँदा स्कुल थिएन, घर छेउमा। महाकाली नदीभन्दा पश्चिम भारतको पिथौरागढ शहरमा उहाँले अध्ययन गर्नुभयो। बीए बीएल उत्तीर्ण गरेपछि गाउँमा समाजसेवा गर्न थाल्नुभयो।
राजा वीरेन्द्र २०२९ सालमा बैतडी सवारी भयो। ऊबेला वीरेन्द्र सरकार २७ बर्षको होइबक्सन्थ्यो। ५२ बर्षीय बुवा राजा महेन्द्रको स्वर्गारोहण भएपछि राष्ट्रको बागडोर सम्हाल्ने जिम्मेवारी वीरेन्द्र सरकारको थियो।
शिक्षित, सभ्य, शालीन र संस्कारी युवक लोकेन्द्रबहादुर चन्द ऊबेला महाकाली अन्चल पंचायतका सभापति हुनुहुन्थ्यो। रत्नविज्ञले हीरा चिनेजस्तो राजा वीरेन्द्रबाट लोकेन्द्रबहादुर चन्दको व्यक्तित्व चानचुने होइन भन्ने आत्मसात गरिबक्स्यो।
सामान्य सम्वाद भयो। दुई युवकको विचार मिल्यो। राजनीतिक दलहरु प्रतिवन्धित रहेको त्यो कालखण्डमा शिक्षित युवाले राजालाई सहयोग गर्नु ठूलो कुरा थियो।
गाउँ पन्चायत, नगर पन्चायत, जिल्ला पंचायत र अन्चल पंचायतजस्ता तहमा अनुभव लिएपछि मात्रै धेरैले राष्ट्रिय पंचायत (संसद) सम्म पुग्ने अवसर पाउँथे। लोकेन्द्रबहादुर सबै परीक्षा उत्तीर्ण गरेर राष्ट्रिय पंचायतका उपाध्यक्ष बन्नुभयो।
सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला राष्ट्रिय पंचायतमा उहाँका विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भयो। मतदानमा थापालाई १७ जना सांसदले मात्रै समर्थन गरेपछि प्रम पदबाट थापा हट्नु भयो।
ऊबेला म राष्ट्रिय पंचायतमा रिपोर्टिङ गर्थेँ। ती सबै घटनाको साक्षी थिएँ। पर्दा पछाडिबाट हुने झेल र खेल हेरिरहेको थिएँ ! सभामुख (राष्ट्रिय पन्चायतका अध्यक्ष) मरिचमानसिंह श्रेष्ठले उहाँको निवास मन्त्री क्वार्टर पुलचोक ललितपुरमा बोलाएर उहाँको बेडरुममा लैजानु भयो मलाई।
तल बैठक कोठामा प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकार ढाल्न चाहने उहाँका मन्त्रीहरु निन्याउरो मुख लगाएर बसेका थिए। पुरानो जागिर थिएन, नयाँ पनि अनिश्चित थियो, मन्त्रीका अनुहारमा त्यस्तै देखेँ मैले।
मन्त्रीहरूले प्रधानमन्त्री फ्याँक्न पद त्याग्ने निश्चित थियो। उनीहरुको राजीनामाको फाइल देखाउँदै मरिचमानसिंहले भन्नुभयो,'सूर्यबहादुरको डरले यी मन्त्रीहरू सिंहदरबार जान चाहँदैनन्। तपाईँले राजीनामा दर्ता गराएर भर्पाई ल्याइदिनुपर्छ !'
म हाँसेँ।
संभवतः विश्वमै पहिलो पत्रकार म नै हुने भएँ, जसले मन्त्रीहरूका राजीनामा दर्ता गर्नुपर्ने भयो।
मरिचमानसिंहले सूर्यबहादुर थापालाई अपदस्थ गरेर प्रधानमन्त्री हुन चाहेको खबर पनि फैलिएको थियो शहरमा। मरिचमानसिंहका छोरा अनिल सानै थिए। उनले गाडीमा राखेर मलाई प्रधानमन्त्री कार्यालय लगे।
ऊबेला सिंहदरबार प्रवेश गर्दा नेपाली टोपी लाउनै पर्ने नियम थियो। गाडीमा ड्राइभरले राखेको टोपी लगाएँ मैले।
मैले प्रमका सचिव दिव्यदेव भट्टलाई सिंहदरबारमा सबै बताएँ।
त्यहाँ सुनसान थियो। पछि लाग्नेहरु धन, बैँस र शक्तिका पछि मात्रै लागेका हुँदा रहेछन् भन्ने बुझेँ मैले।
भट्टले सूर्यबहादुर थापाको सामुन्ने लगेपछि 'अब के भन्ने' सोचेर म हतप्रभ भएको थिएँ।
प्रधानमन्त्रीले सोध्नुभयो, 'अँ, तपाईं को ? कहाँबाट आउनु भएको ? मन्त्रीहरूले दिएको राजीनामा के हैसियतले ल्याउनु भयो ? किन नआएका मन्त्रीहरू ?'
मलाई सिकाइको कुरा भनेँ, 'म दीपक बोहराको भाइ आलोक बोहरा। दाईले राजीनामा दर्ता गरेर आइज भनेर पठाएको। बाँकी कुरा मलाई थाहा छैन।'
बाहिर भट्टजीले भर्पाई दिनु भयो। मैले लामो सास लिएँ।
अनिलले बेगले गाडी हाँके। मरिचमानसिंह र नूतनदेव खनाल मलाई पर्खेर बस्नुभएको थियो। जागिर त्यागेका मन्त्रीहरू भन्दैथिए,'शायद अब लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बन्नु होला।'
राजा वीरेन्द्रले प्रधानमन्त्री सूर्यबहादुर थापालाई सम्झाइबक्सेको थियो,'पीएम, राजीनामा गर बेस होला'!
थापाले भन्नुभयो,'सरकार, म नेचुरल डेथ होस् भन्ने चाहन्छु सम्वैधानिक बाटोबाट बहिर्गमन गर्न पाऊँ।'
मालीगाउँस्थित घरमा थापाले मलाई अन्तरवार्ताका क्रममा जे भन्नुभएको थियो, लोकेन्द्रबहादुर चन्दले राजा वीरेन्द्र र थापाबीच त्यस्तै सम्वाद भएको खुलासा गर्नुभयो।
थापाले पद त्याग्नुपर्ने भएपछि विकसित घटनाक्रम रोचक थियो।
लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुभयो।
बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले दशरथ रंगशालामा फुटबल प्रतियोगिता हुँदा चन्दले प्रधानमन्त्री- ११ टिमको नेतृत्व गरेर अब्बल खेलाडीले झैं खेल्नु भएको थियो। टीम वर्कमा विश्वास गर्ने चन्द छलकपट नजान्ने भनेर चिनिनु हुन्छ। युवक हुनुहुन्थ्यो चन्द, राजनीतिमा प्रवेश गर्दा। साहित्यकार 'लोचन' भनेर प्रसिद्ध चन्दले साहित्यका क्षेत्रमा मदन पुरस्कार पाउनु भएको छ।
राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको शासनकालमा चारपटक प्रधानमन्त्री हुनुभयो उहाँ। बहुदलीय व्यवस्थाको माग गरिरहेका दलहरूलाई चित्त बुझाउन राजा वीरेन्द्रबाट लोकेन्द्रलाई जिम्मेवारी बक्स्यो तर अन्तर्राष्ट्रिय षड्यन्त्रका कारणले परिस्थिति जटिल भयो। समयले कोल्टे फेरिरहेको थियो।
कालान्तरमा दलविहीन व्यवस्था ढल्यो र लोकेन्द्रबहादुर चन्द दलविहीन पंचायती व्यवस्थाको अन्तिम प्रधानमन्त्री हुनुभयो।
(वरिष्ठ पत्रकार युवराज गौतमको अनुभवमा आधारित संस्मरण)
प्रतिक्रिया