काठमाडौं । युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् ।
क्यानडाको नोभा स्कोटियास्थित हेलिफ्याक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा बोल्दै जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको भए पनि रुस निरन्तर युद्धमै केन्द्रित रहेको बताए । उनले भने, “हामी शान्ति चाहन्छौं, तर पुटिन युद्ध प्रेमी मानिस हुन् ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा हुने भेटअघि जेलेन्स्की क्यानडामै रहेका छन् । उनले ट्रम्पसमक्ष करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न लक्षित २० बुँदे शान्ति प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । यसअघि ट्रम्पले कुनै पनि शान्ति प्रस्ताव आफ्नो “स्वीकृति” बिना सम्भव नहुने बताएका थिए ।
क्यानडामा रहँदा जेलेन्स्कीले प्रधानमन्त्री कार्नीसँगै नाटो र युरोपेली संघका नेताहरूसँग पनि छलफल गरे । उनले युद्ध अन्त्यका लागि युद्धभूमि र कूटनीतिक दुवै मोर्चामा कडा अडान आवश्यक रहेको बताएका छन् । भेटपछाडि सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले भने, “पुटिनले वास्तविक र न्यायपूर्ण शान्तिलाई छल्न नपाओस् भन्नका लागि मोर्चा र कूटनीति दुवैमा बलियो स्थिति आवश्यक छ । विश्वसँग शान्ति र सुरक्षाको ग्यारेन्टी गर्न पर्याप्त शक्ति छ ।” उनका यी अभिव्यक्ति रुसले कीभ र आसपासका क्षेत्रमा ठूलो हवाई आक्रमण गरेको केही घण्टापछि आएका हुन । उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको जनाइएको छ ।
जेलेन्स्कीका अनुसार रुसले करिब ५०० ड्रोन र ४० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमण १० घण्टाभन्दा बढी समयसम्म चलेको थियो, जसका कारण कीभमा जनजीवन प्रभावित भएको र केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । जेलेन्स्कीले आज फ्लोरिडास्थित मार–ए–लागो मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा शान्ति योजना र युक्रेनका लागि सम्भावित अमेरिकी सुरक्षा प्रत्याभूतिको विषयमा छलफल हुने बताइएको छ । एएनआई
प्रतिक्रिया