काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसमाथि कडा आलोचना गर्दै उनले बंगलादेशको परराष्ट्र नीति परिवर्तन गर्ने कुनै जनादेश नरहेको बताएकी छन् । उनले जनताबाट निर्वाचित नभएको सरकारले लिएका रणनीतिक निर्णयहरूले देशलाई दीर्घकालीन नोक्सान पुर्याउन सक्ने चेतावनी दिइन ।
एएनआईसँगको इमेल अन्तर्वार्तामा शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई “न्यायको नाममा राजनीतिक हत्या” भन्दै अस्वीकार गरिन् । आफूलाई आत्मरक्षा गर्ने अवसर नदिइएको र अवामी लिगविरुद्ध योजनाबद्ध राजनीतिक दमन गरिएको उनको आरोप छ । आगामी फेब्रुअरीमा तय गरिएको निर्वाचनप्रति पनि उनले गम्भीर प्रश्न उठाइन । प्रतिबन्धित अवामी लिगबिना हुने चुनावलाई उनले “निर्वाचन होइन, राज्याभिषेक” को संज्ञा दिँदै युनुस सरकारले जनताको मतबिना शासन गरिरहेको आरोप लगाइन ।
भारत–बंगलादेश सम्बन्धबारे बोल्दै शेख हसिनाले दुवै देशबीचको सम्बन्ध ऐतिहासिक र आधारभूत रहेको बताइन । हाल देखिएको तनाव युनुस सरकारकै कारण भएको भन्दै उनले भारतप्रति शत्रुतापूर्ण अभिव्यक्ति, धार्मिक अल्पसंख्यकमाथि आक्रमण र अतिवादीहरूको प्रभाव बढेको आरोप लगाइन । उनले भारतप्रति आभार व्यक्त गर्दै आफू न्यायबाट भाग्न नभई रक्तपात रोक्न देश छाडेको स्पष्ट पारिन । युनुस सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजान चुनौती दिँदै निष्पक्ष अदालतले आफूलाई निर्दोष ठहर गर्ने विश्वास व्यक्त गरिन।
इस्लामवादी प्रभाव बढ्दै गएको विषयमा पनि चिन्ता व्यक्त गर्दै शेख हसिनाले अतिवादीहरूलाई सरकार र सार्वजनिक जीवनमा स्थान दिइएको आरोप लगाइन । यसले केवल भारत मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली स्थायित्वमा चासो राख्ने देशहरूलाई चिन्तित बनाउनु पर्ने उनको भनाइ छ। एएनआई
प्रतिक्रिया