काठमाडौं । सबैभन्दा ठूलो वामपन्थी दल नेकपा एमालेको महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भव्य सिँगारपेटार गरिएको मञ्चबाट अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको समुद्घाटन गरेका हुन् ।
तीन लाख कार्यकर्ता उतार्ने उद्घोष गरिएको महाधिवेशन पूर्व निर्धारित स्थल पोखरा रध्द गरेर भक्तपुर सारिएको हो । अध्यक्ष ओलीलाई सरकारले लगाएको स्थान हदपछि एमालेले यो निर्णय गरेको थियो ।
एमालेको ११ औं महाधिवेशन विगतका महाधिवेशनभन्दा केही भिन्न देखिएको छ । नेतृत्व परिवर्तन यसपाली उठेको गहकिलो नारा देखिएको छ भने ओलीले अझै एकछत्त नेतृत्व गर्ने आफ्नो महत्वाकांक्षालाई असफल हुन नदिने प्रयास पनि स्पष्ट भैरहेको छ । वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले ओलीलाई चुनौति दिँदै अध्यक्षको उम्मेदवार हुने घोषणा गरिसकेका छन् । ओलीले अध्यक्षको हैसियतमा प्राप्त अधिकार आफ्नो पक्षमा हुनेगरी प्रयोग गर्न कुनै कसर छाडेका छैनन् ।
कस्तो होला त महाधिवेशन पछिको एमाले

एमालेमा मूलतः नेतृत्वको पुस्तान्तरण भन्दा बढी शक्ति–पुनर्संरचनाको परीक्षा जस्तो देखिन्छ। त्यसलाई तीन तहमा विश्लेषण गर्नुपर्छ । नेतृत्वमा नयाँ अनुहार सम्भव छ कि असम्भव भन्ने प्रश्न यतिबेला बहसमा छ । सम्भावित परिणामका परिदृश्यहरु केलाउँदा ओलीको राजनीतिक भविष्य कस्तो हुने हो भन्ने पनि चर्चामा छ । नेतृत्वमा नयाँ अनुहार आउला कि पुरानै दोहोरिएला भनेर अड्कलबाजी पनि चलिरहेको पाईन्छ ।
एकथरीको भनाईमा पुरानै नेतृत्व दोहोरिने सम्भावना उच्च छ, तर पूर्ण रूपमा पुरानै स्वरूपमा होइन। महाधिवशेनले नयाँ अनुहारहरू स्थापित गराउने सम्भावना प्रवल छ । जेनजी आन्दोलनको दवाव परेकाले एमाले मात्र होइन सबै दलहरु यस्तो दवाव अनुभव गरिहेका हुनसक्छन् । एमालेको संगठनात्मक चरित्र कस्तो छ भने यो क्याडर(आधारित, अनुशासित र केन्द्रित शक्ति संरचना भएको पार्टी हो।
यसमा नेतृत्व परिवर्तन भावनात्मक लहडले होइन, संरचनागत नियन्त्रणले निर्धारण गर्छ। त्यसैले ओलीविरुद्ध स्वतन्त्र, विश्वसनीय र एकीकृत नेतृत्व विकल्प हाल नभएको भनेर प्रचार गरिएको छ । धव–झलनाथ पक्ष विभाजनपछि पार्टीभित्र जोखिम नलिने प्रवृत्ति बलियो बनेको देखिएको छ। नयाँ दावेदार पोखरेलले के गर्छन् त्यो प्रतीक्षाको बिषय हो । एकथरी अन्धसमर्थकहरुको नारा छ, “ओलीले नै पार्टी जोगाए” भन्ने न्यारेटिभलाई चर्कोसँग उछाल्ने र क्याडर तहमा प्रभाव जमाउने रणनीति देखिन्छ।
ओली नै अध्यक्षमा दोहोरिन पनि सक्छन् तर त्यसो भयो भने केही युवा र मध्यपुस्ताका अनुहारहरूको उल्लेख्य संख्या पदाधिकारीमा थपिनसक्छन् । यसो भयो भने एमालेमा शक्तिको केन्द्रीकरण अलि संस्थागत हुनसक्ने छ । यो परिणामले पार्टीलाई अल्पकालीन स्थिरता दिन्छ, तर दीर्घकालीन प्रश्न भने बाँकी नै रहन्छ।
के ओली पछि हट्लान्
ओली औपचारिक रूपमा पछि हट्ने सम्भाना न्यून छ । उनको स्वास्थ्य, उमेर वा राजनीतिक गणनाका कारण अध्यक्ष नबन्ने तर पार्टीको मार्गदर्शक बनेर बस्ने सम्भावना नभएको त होइन । महाधिवेशनपछि जे जस्तो निर्णय आए पनि ओलीको राजनीतिक भविष्य भने सीमित हुने पक्का छ । पार्टीभित्र उनी अझै पनि सबैभन्दा प्रभावशाली नेता भएको सन्देश निरन्तर प्रवाह गरिने छ ।

एमालेमा सांगठनिक नियन्त्रण उनकै मातहत बलियो अवस्थामा रहेको देखाईने छ । यसो गरिए पनि एउटा कुरा भने प्रष्ट हो कि अबका दिनमा ओलीको राजनीतिक करिश्मा क्षयको चरण मा प्रवेश गरिसकेको छ । जेनजी आन्दोलनपछि ओलीको लोकप्रियता उनका समर्थकले चुलीमै पुर्याउने प्रयाश गरिरहेको भएपनि यथार्थमा त्यस्तो देखिँदैन । पछिल्ला दिनहरुमा ओली अब “उत्साह जगाउने नेता” भन्दा “नियन्त्रण गर्ने नेता” बन्दै गएका छन्। नयाँ पुस्तासँग उनको भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको छ।
महाधिवेशन सुरु भएको छ । देशमा पुराना अनुहार कहिँ कतै पनि दोहोरिनु हुँदैन भन्ने आवाज चर्कोसँग उठेको छ । राजनीतिक दलहरु यो आवाजको दवावमा पर्छन् कि पर्दैनन् भन्ने कुराको पहिलो उदाहरण एमालले नै प्रस्तुत गर्ने छ । महाधिवेशनले कस्तो नेतृत्व र तल्लो तहका नेता चुन्छ त्यसले नै परिवर्तनको प्रभाव प्रष्ट पार्ने छ । जेनजी आन्दोलनपछि ठूला दलहरुमा त्यसको प्रभाव परेको जस्तो नदेखिएकाले पुरानै अनुहारहरुको दवदवा पुनस्थापित पो हुने हो कि भन्ने चासो भने सर्वत्र देखिन्छ ।
प्रतिक्रिया