राष्ट्रिय टिम उपाधि दोलखा चेस होम्सले जित्यो

ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ।

ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जित र एक हारको नतिजा निकालि १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन्। यस्तै दोलखाली अर्को टिम दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान कब्जा गर्न सफल भएका छन्। यसैगरी शुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितपुर महालक्ष्मी नगरपालिका टिमले चार जित, दुई बराबर र एक खेलमा हार व्यहोर्दै १० अंकका साथ तेस्रो स्थानमा प्रतियोगिता टुङ्ग्याएका छन्।

ललितपुर महानगरपालिका टिमले दाबेदारी प्रस्तुत गरे पनि महत्वपूर्ण दुई खेलमा हार आत्मसाथ गर्दै एक खेल बराबर र चार जित हासिल गर्दै ९ अंक प्रोग्रेसिभ १७ प्वाइन्टका आधारमा चौथो स्थानमा उभिएका छन्। गत संस्करणको विजेता थापाथली चेस पार्कले समान जित हात परिणाममा ९ अंक जोडेर १६।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं स्थानमा रहे। प्रतिस्पर्धामा बुटवल उपमहानगरपालिका टिमले चार खेलमा जित र तिन खेलमा हारको सामना गर्दै ८ अंक जोडेर १७।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा छैठौ भए भने मध्यपुर ठिमी नगर चेस संघले तिन जित, दुई हात र दुई बराबर खेल मार्फत ८ अंक जोडेर १५।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा सातौं हुन सफल भएका छन्।

आठौं संस्करणको राष्ट्रिय टिम चेसमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै महालक्ष्मी नगरपालिका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ तथा दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं र मध्यपुर ठिमीका अभिक शाहले आफुलाई अब्बल साबित गरेका छन्। प्रतियोगितामा विजयी शीर्ष चार स्थान हासिल गरेका टिमले क्रमशः नगद २ लाख, १ लाख, ६० हजार र ४० हजार सहित स्वर्ण पदक, रजत पदक तथा काश्य पदक तथा ट्रफी, प्रमाणपत्र हात पारेका छन्।

व्यक्तिगत प्रतिस्पर्धामा उत्कृष्ट भएका पाँच खेलाडीहरूले जनही नगद १० हजार प्राप्त गरेका छन्। प्रतियोगिता पूर्व ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजेता टोलिलाई पुरस्कार वितरण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि मञ्जली शाक्य बज्राचार्यले बौद्धिक बुद्धिचाल खेल प्रवद्र्धन गर्न महानगरपालिका हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न समापन समारोहमा क्यास्पियन कलेजका प्रिन्सिपल प्रनिष पाण्डे, महासंघका उपाध्यक्ष माधवप्रसाद प्रधान, कोषाध्यक्ष तारा बहादुर रानाभाटको उपस्थिति रहेको थियो।

प्रतिक्रिया