एनपीएल दोस्रो संस्करण भोलिदेखि

कीर्तिपुर डाँडामा नयाँ रंगशाला, नयाँ उत्साह र अनौठो उमंग

काठमाडौं । काठमाडौंको कीर्तिपुर डाँडामा नवनिर्मित सुविधासम्पन्न क्रिकेट रंगशाला नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको स्वागत गर्न तयार भएको छ ।

१ मंसीर अर्थात भोलि सोमबार एनपीएलको उद्घाटन हुँदैछ । 

देशकै पहिलो विश्वविद्यालय दलीय राजनीतिको हस्तक्षेपले थिलथिलो भएपछि ओझेलमा परेजस्तो भएको कीर्तिपुर नेपाल प्रिमियर लिग क्रिकेटले फेरि चर्चामा ल्याएको छ । चर्चामा मात्र ल्याएको छैन कीर्तिपुरको नामलाई सार्थक तुल्याउने लक्षण सहित क्रिकेट खेलको माध्यमबाट विश्व रंगमञ्चमा देशकै कीर्ति राख्ने सफल प्रयाश पनि गरिरहेको प्रष्टसँग देख्न सकिन्छ ।

पहिलो एनपीएल प्रतियोगिताले देशभर जगाएको उत्साहले नेपालमा यसको सहर्ष स्वागत गरिएको सर्वत्र महसुश गरिएको    थियो । सरकारले यसको मर्म बुझेर नै हुनुपर्छ कीर्तिपुरमा आधारभूत सुविधा भएको रंगशाला निर्माण गर्न अग्रसरता देखायो । क्रिकेट एशोशिएशन क्यानको टिम र यस खेलसँग सम्बध्द सबैको सक्रियताले वर्षदिनपछि हुनलागेको दोस्रो संस्करण आयोजना गर्न मिल्नेगरी रंगशाला तयार भएको छ । पूर्वाधारका केही पक्ष अझै निर्माणाधीन नै छन्  तर अब प्रतियोगिता आयोजना गर्न केही पनि व्यवधान र अभाव नरहेको क्यान पदाधिकारीहरुको भनाई छ ।

रंगाशाला  निर्माण भएपछि क्रिकेट सम्बध्द सबै पक्षमा नयाँ उत्साह र उमंग देखिएको छ । हालै देशमा भएका हिंसा र विध्वंशले आहत भएका नेपालीहरुका मन र मुहारमा एनपीएलको दोस्रो संस्करणको आयोजनाले केही खुशी प्रशार गरेको देखिएको छ । यतिबेला कीर्तिपुरको रंगशाला वरपर खुला चौर र बारीका गराहरुमा दर्जनौ युवाहरु क्रिकेट खेलिरहेका देखिन्छन् । त्यसैगरी क्यान पदाधिकारीहरु अन्तिम चरणको तयारीको मसिनोगरी निरीक्षणमा व्यस्त देखिन्छन् ।

सबै टिकट बिके

यता क्यानले एनपीएलको उद्घाटन खेलका लागि राखिएका सबै टिकटहरू बिक्री भइसकेको जनाएको छ । क्यानले पहिलो खेलका लागि टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकहरूलाई घरमै बसेर खेल हेरिदिन अनुरोध गरेको छ। रंगशालाभित्र प्रवेश गर्न असमर्थ दर्शकहरुको चापले व्यवस्थापनमा कठिनाई उत्पन्न भएको विगतको अनुभवबाट क्यानले यसो भनेको बुझ्न सकिन्छ ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालबाट भिडियो सन्देश प्रशार गर्दै टिकट नपाएका दर्शकहरूलाई रङ्गशालामा आएर हुलहुज्जत वा भीडभाड नगर्न आग्रह गरेका छन्। उनले दर्शकहरूले घरमै बसेर खेल हेर्दै एनपीएल क्रिकेटलाई सहयोग र समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। 

एनपीएल अब एउटा स्थापित ब्राण्ड बनिसकेको र यसले विश्वको ध्यान नेपाली क्रिकेटतर्फ तान्ने भएकाले दर्शक तथा समर्थकलाई अनुशासित भएर खेल हेर्न क्यानले विशेष अनुरोध गरेको छ। सचिव खड्काले भविष्यमा विश्वस्तरका धेरै खेलाडीहरूलाई नेपालमा ल्याएर खेलाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको उल्लेख गरेका छन्।

हाल कीर्तिपुरको रङ्गशालामा सिट संख्या सीमित भएकाले क्यानले उद्घाटन खेलका लागि करिब आठ हजार टिकट बिक्रीका लागि खुल्ला गरेको थियो। यसबाहेक, करिब दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकलगायतका लागि छुट्याइएको छ। यस्तै, थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि आरक्षित गरिएको छ। 

क्यानले शनिबार पत्रकार सम्मेलनमा एनपीएल प्रतियोगिता  चलिरहेको समयमा कुनै पनि समूहलाई काठमाडौं केन्द्रित आन्दोलनका कार्यक्रमहरू नगर्न समेत आग्रह गरेको छ । भोलि सोमबारदेखि सुरु हुने एनपीएलको दोस्रो संस्करणका लागि सबै तयारी पूरा भएको छ। यसपटक प्रतियोगितामा आठ टोली बीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौं गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। 

खेल दिउँसो ४ बजे सुरु हुनेछ।
 
 

प्रतिक्रिया