काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगै ‘द बीस्ट’ नामक राष्ट्रपतिको विशेष सवारीमा क्वालालम्पुर कन्भेन्सन सेन्टरतर्फ प्रस्थान गर्नु अघि ट्रम्पलाई भव्य स्वागत गरिएको थियो ।
आधिकारिक स्वागत समारोहमा ट्रम्पले परम्परागत मलेसियाली नृत्यमा सहभागी हुँदै उत्सवमय वातावरण सिर्जना गरेका थिए । जसले उनको भ्रमणको औपचारिक कार्यक्रमको सुरुवातलाई प्रतीकात्मक रूपमा रंगीन बनाएको थियो ।
ट्रम्प आइतबार एयर फोर्स वनमार्फत मलेसिया पुगेका हुन् । मलेसियाली फाइटर जेटहरूले उनको विमानलाई मलेसियाली हवाई क्षेत्रसम्म एस्कर्ट गर्दै ल्याएका थिए । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं मलेसियाली नागरिकहरू उनको स्वागतका लागि भेला भएका थिए ।
‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहमा साक्षी
ट्रम्प, क्याम्बोडिया र थाइल्यान्डका नेताहरूसँगै दक्षिणपूर्वी एसियाली मुलुकहरूबीच ‘महान शान्ति सम्झौता’ हस्ताक्षर समारोहका साक्षी बन्ने तय भएको छ । उक्त सम्झौता जुलाई महिनामा भएको सीमावर्ती संघर्षपछि स्थायी समाधानका रूपमा गरिएको हो ।
थाइल्यान्ड र क्याम्बोडियाबीच सीमाको अस्पष्ट क्षेत्रका कारण विगत लामो समयदेखि विवाद रहँदै आएको थियो । जुलाईमा पाँच दिनसम्म चलेको झडपमा दुवै पक्षमा मानवीय क्षति र विस्थापन भएको थियो । त्यसपछिको मलेसियाको मध्यस्थतामा गरिएको युद्धविरामले दुवै पक्षबीच पुनः वार्ताको बाटो खोलेको थियो ।
सीमा निर्धारणमा प्रगति
हालै थाइल्यान्डको चान्थाबुरीमा सम्पन्न संयुक्त आयोगको बैठकले १५ सीमा स्तम्भ प्रतिस्थापन गर्ने र बाँकी भूभागको प्राविधिक सर्वेक्षण तत्काल अघि बढाउने निर्णय गरेको छ ।
थाइल्यान्डका परराष्ट्र मन्त्री सिहासाक फुआङ्गकेट्केओका अनुसार अब दुवै मुलुक ‘थाइल्यान्ड–क्याम्बोडिया सम्बन्ध घोषणा पत्र’ अन्तिम चरणमा पु¥याउने दिशामा छन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेतले पनि संयुक्त वक्तव्य जारी गर्दै वार्ता “मैत्रीपूर्ण र सहयोगी वातावरणमा सम्पन्न भएको” बताएका छन् ।
चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय
ट्रम्पले आसियान सम्मेलनकै क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तय भएको छ । जसले शिखर सम्मेलनलाई रणनीतिक दृष्टिले झन् महत्वपूर्ण बनाएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले लेखेका छन्, “म मलेसिया जाँदैछु, जहाँ मैले क्याम्बोडिया र थाइल्यान्डबीचको महान शान्ति सम्झौता साक्षी बन्नेछु । थाइल्यान्डकी महारानी आमाको निधनप्रति म दुःख व्यक्त गर्दछु । यो सम्झौता हाम्रो क्षेत्रीय शान्ति र एकताको ठूलो कदम हुनेछ ।” ट्रम्पको मलेसिया भ्रमणले अमेरिकाको दक्षिणपूर्वी एसियाली कूटनीतिक संलग्नता अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।(नेपाल न्यूज बैंक)
प्रतिक्रिया