गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुने भएका छन् ।

अल–अरबियाका अनुसार उक्त सम्मेलनमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने सम्झौता औपचारिक रूपमा अन्तिम चरणमा पुर्याइनेछ । इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने छन् । सम्मेलनमा २० भन्दा बढी देशका शीर्ष नेताहरूको सहभागिता रहनेछ । यसअघि शुक्रबारदेखि लागू भएको युद्धविराम सम्झौता इजिप्ट, कतार, टर्की र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा तीन दिनसम्म शार्म एल–शेखमा चलेको वार्तापछि सम्पन्न भएको हो । तर, इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना प्रतिनिधिहरू सम्मेलनमा नपठाउने निर्णय गरेको छ । त्यस्तै, इरानी विदेशमन्त्री सैयद अब्बास आराग्चीले सोमबार इजिप्टको निमन्त्रणाको लागि धन्यवाद दिँदै पनि इरान उक्त सम्मेलनमा सहभागी नहुने बताएका छन् । उनले भने, “इरान कूटनीतिक उपायमार्फत विवाद समाधान गर्न समर्थन गर्दछ, तर ती देशहरूसँग छलफल गर्न सक्दैन जसले इरानी जनतामाथि आक्रमण र प्रतिबन्ध लगाइरहेका छन् ।”

इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता गाजामा दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको विनाशकारी युद्ध अन्त्यतर्फको पहिलो ठूलो कदमको रूपमा हेरिएको छ । योजनाको पहिलो चरणमा गाजा सिटी, राफा, खान युनिस र उत्तर गाजाबाट इजरायली सेनाको फिर्ती, पाँचवटा सहायता नाकाको पुनःखोलाइ, र बन्दी आदान–प्रदान समावेश गरिएको छ । गाजाको स्वास्थ्य निकायका अनुसार, इजरायली सैन्य कारबाहीका कारण हालसम्म ६७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ र सो क्षेत्रमा भीषण क्षति तथा भोकमरी फैलिएर मानवीय संकट उत्पन्न भएको छ । शार्म एल–शेख सम्मेलनले युद्धपश्चात पुनर्निर्माण, मानवीय सहायता र दीर्घकालीन राजनीतिक समाधानका लागि रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ । सीसीटीभी
 

प्रतिक्रिया