असोज मध्य दशैंमा परेको भीषण वर्षापछिको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेपछि देश शोकमा डुब्यो । बाढी पहिरो प्रभावित क्षेत्रका नागरिक गासबास बिहीन हुन पुगेका छन् भने स्वजन गुमाएर कैयौं परिवार शोकमा डुबेको छ । वेपत्ता भएका स्थानीयको खोजतलास भैरहेको भएपनि अझैसम्म फेला पार्न सकिएको छैन । तिनै तहका सरकार उध्दार र राहतमा जुटेका छन् । सरकारको सबै सन्यन्त्रको सक्रियता सराहनीय देखिन्छ ।
यसपटकको वर्षा र पहिरोले इलामलाई सबैभन्दा बढी प्रभावित तुल्याएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३९ जना जिल्लाबासी गुमाएर इलाम गहिरो शोकमा परेको छ । भौतिक संरचना र घरबारमा पुगेको क्षतिको यकिन गणना हुनै बाँकी देखिन्छ । जसले थप गहिरो पीडा छोडेर गएको छ ।
संयोगले ज्यान जोगाउन सफल भएका नागरिकहरुलाई तत्काल गासबासको प्रवन्ध आवश्यक देखिएको छ भने घाईतेहरुको उपचार अर्को अत्यावश्यक सेवा हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको अथक सक्रियताले उध्दारकार्य सम्भव भएसम्म छिटो गरिएको समाचारहरु आईरहेका छन् । यो तत्परताले अपूरणीय क्षतिका बीच पनि उध्दारकार्य सम्भव भएको हो ।
सबैभन्दा बढी पीडित हुनपुगेको इलामलाई तत्काल राहत उपलव्ध गराउन स्थानीय निकाय र प्रदेश सरकारले राहत सामग्री ढुवानी गरिरहेको देखिन्छ । यो तत्कालको लागि केवल राहत मात्र हो तर महत्वपूर्ण पनि हो । तर इलामले भोगेको क्षतिलाई यतिलेमात्र पुग्दैन । संघीय सरकारले इलामलाई ‘विशेष प्राकृतिक प्रकोप प्रभावित क्षेत्र’ घोषणा गरेर राहत प्याकेज उपलव्ध गराउनुपर्ने देखिन्छ । जसले भौतिक क्षति सहित मेची राजमार्गको पुननिर्माण र क्षतिग्रस्त पुलहरु सहित पूर्वाधारहरुको प्रवन्ध गर्न सकियोस् । सरकारले यसतर्फ विलम्व नगरी विशेष राहत प्याकेजको घोषणा गरोस् भन्ने हाम्रो अनुरोध छ ।
प्राकृतिक प्रकोप कसैको नियन्त्रण भन्दा बाहिरको कुरा हो । मानवीय क्षमताले धान्न नसक्ने यस्ता आकस्मिक घटनाको पूर्व सूचनाको गम्भीरतालाई कसरी लिने र कसरी त्यसलाई सामना गर्ने भन्ने कुरा चैं मुख्य पक्ष हो । वर्तमान सरकारले मौसममा आएको आकस्मिक परिवर्तन र अप्रत्याशित भीषण वर्षा हुने पूर्व सूचनालाई जसरी गम्भीरतापूर्वक ग्रहण गरेर त्यसको पूर्व तयारी गर्यो, यसले ठूलो जनधनको सम्भावित क्षतिलाई भने जोगाएको छ भन्दा अन्यथा हुने छैन । राष्ट्रिय राजमार्गहरुमा सवारी आवागमनमाथिको निगरानी र नियन्त्रण, वैकल्पिक मार्गको प्रवन्ध र समन्वय तथा यात्रा गरिरहेका मानिसहरुलाई बिचल्लीमा पर्न नदिन गरिएको रेखदेख निकै प्रशंसनीय कार्य हो । यसपटकको वर्षा र त्यसपछि आएको बाढी पहिरोको असरबाट नागरिकहरुको जिउधनको रक्षा गर्ने कार्यमा वर्तमान सरकार जिम्मेवार देखियो र वास्तवमा सरकार देखियो । आम जनताले संकटमा सरकार देख्न पाएको सायद यो दुर्लभ घटना हो भन्दा अतिसयोक्ति नहोला ।
गत वर्ष पनि यस्तै प्राकृतिक विपत्ति आएको थियो । तर सरकार ख्यालठट्टा गरेर बसेको थियो, प्रधानमन्त्री पीडितहरुको घाउमा नून छर्किरहेका थिए भनेर आममानिसहरु चर्चा गरिरहेका भेटिन्छन् । ‘सरकार त सरकार नै हो, अहिले जुनजुन सन्यन्त्रले काम गरिरहेका छन् हिजो पनि ती थिए । यही क्षमता थियो जनशक्ति पनि यही थियो । तर थिएन सरकार’ भनेर मानिसहरु टिप्पणी गरिरहेका पाईन्छन् । जननिर्वाचित सरकार र राजनीतिक दलहरुको क्षमतामाथि यो भन्दा गम्भीर प्रश्न अरु के नै हुनसक्ला र ?
संकटको घडिमा सबैले मनन गर्नुपर्ने बिषय हो यो जस्तो लाग्दछ । जनआक्रोश अचानक दुध उम्लिए जसरी उम्लिँदैन होला, जनताले पत्याएर पनि तिनै जनतालाई पटक पटक उपेक्षाको पात्र बनाईरहँदा नै हो अनेक नाममा संगठित भएर जनताको रगत उम्लिने अनि त्यसले पत्याउनै नसकिने गरी परिस्थितिको पर्दा गिराउने र नयाँ पात्र सिर्जना गरिदिने ।
यो मनन गर्ने कुरा हो । वर्तमान सरकारको जग र मार्ग फरक छ । तर संकटमा उसको परीक्षा भैरहेको छ । अहिलेको सरकारले जनतालाई निराश हुनदिएको छैन । भरोसा र आशा जगाएको छ । भविष्यमा पनि यो भरोसा र आशा कमजोर हुन नपाओस् । जनताको भरोसा नटुट्नु नै अहिलेका लागि सबैभन्दा ठूलो उपलव्धि हो ।
र, अर्को विर्सन नहुने पक्ष के हो भने यस्ता प्राकृतिक विपत्तिहरुमा राहत वितरणका नाममा विगतमा धेरै किसिमका विकृति, अनियमितता र विशेष स्वार्थ बोकेका प्रवृतिहरुको चलखेल भएका थिए । जसले विशुध्द भावनाले हुनुपर्ने राहत संकलन तथा वितरणलाई विवादित र दूषित बनाउने काम भएका थिए । सरकारले यसतर्फ गम्भीरतापूर्वक विचार पुर्याउन आवश्यक छ ।
सबैको कल्याण होस् ।
(इलाम नगरपालिका- ५ बरबोटेमा पहिरोले पुर्याएको क्षति । तस्बिरः दीपक बुढाथोकी)
प्रतिक्रिया