'राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नुलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति दया लाग्छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिए ।

राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानितालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई आध्यात्मवादसँग जोड्नेहरुप्रति आफूलाई दया लाागेको अध्यक्ष ओलीको भनाइ थियो ।

“वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलङ्कीतिर हिँडेर भक्तपुर जाँदैछ भन्नुजस्तै हो”, नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलील भने, “जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो । हामीले योजनाबद्धरूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ ।”

एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उनले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाए ।

उनले मुलुकमा नेताहरूका लामा भाषणको तुलनामा जनस्तरमा चेतना र परिवर्तनको बिगुल फुक्नका लागि सांस्कृतिक कर्मीका लेख, रचना र प्रस्तुतिले असाधारण योगदान दिएको बताए । वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको बहुभाषिक र बहुसांस्कृतिक एवं समानताको भावयुक्त संस्कृतिका मौलिक पक्षलाई संरक्षण गर्दै वैज्ञानिक रुपान्तरणका लागि स्रष्टाहरूले पञ्चायतकालदेखि नै योगदान दिएको बताए ।

प्रतिक्रिया