काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।
मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो । नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।
नेपालका आरिफले अर्धशतकीय इनिङ खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए । नेदरल्याण्ड्सले दोस्रो इनिङको सुरुवातमा कुनै बलको सामना नगरी १० रन पेनाल्टी स्वरुप पायो । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए । त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले ४ मध्ये ३ खेल जितेको छ। नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा २ रनको हार बेहोरेको थियो ।
नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
प्रतिक्रिया