काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराउदै जित निकालेको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३:४५ बजे खेल सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ । सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल अहिले लिग—२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ । १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् भने टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् । नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन् । नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी—२० सिरिज हुने छ ।
प्रतिक्रिया