काठमाडौं । केही समय यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई उदासिनताले छपक्क छोपेको छ । यो उदासीको कारण के हो, बुझ्न सकिएको छैन भन्छन् उनका शुभचिन्तक । उदासीमै पनि प्रधानमन्त्रीका अभिव्यक्ति यसरी आईरहेका छन् कि अब या तब कुनै पनि बेला अप्रिय द्वन्दको परिस्थिति आउन नसक्ला भनेर ढुक्क हुन सकिने अवस्था छैन ।
यही १५ जेठमा सरकारले औपचारिक कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने भएको छ । गणतन्त्र स्थापना भएयता यो नियमित राष्ट्रिय कार्यक्रम हुँदै आएको छ । संयोगले त्यसै दिन संसदको एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्रकै विकल्पमा राजतन्त्र पुनस्थापनाको माग गर्दै विरोध कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले भने कुनै पनि विरोध कार्यक्रम आयोजन हुन नपाउने गरी त्यसदिन काठमाडौं कब्जामा लिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।
उत्तेजक र भिडन्तको परिस्थिति बनाउन मलजल पुग्ने किसिमका प्रधानमन्त्रीका अभिव्यक्तिलाई लिएर राष्ट्रिय मानव अधिकार आयोग समेत चिन्तित देखिन्छ । उसले यसको आलोचना गर्दै सरकारलाई सचेत गराएको छ । राजनीतिक क्षेत्रमा त चर्को विरोध पनि भैरहेको छ भने सत्ता सहयात्री नेपाली कांग्रेसले पनि आलोचना गरिसकेको छ ।
के भयो प्रधानमन्त्रीलाई?
ठीक एक हप्ता अघि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने दिन प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने पालो थियो । ‘बिरामी परेको’ आकस्मिक सूचना पठाएर संसद गएनन् प्रधानमन्त्री केपी शर्मा ओली र बिहानै देखि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग राजनीतिक सौदाबाजीमा व्यस्त रहे । सहमति अनुसार, साँझ बालुवाटारमै मन्त्रीपरिषद बैठक बसेर गभर्नर नियुक्त गरे अनि सरकारको आयुमाथि उठिरहेको प्रश्न साम्य पारेर दंग परे ।
मंगलबार (आज) राष्ट्रिय मानव अधिकार आयोगको रजत जयन्तिको वार्षिकोत्सवमा पनि उनी सहभागी भएनन् । आफ्ना अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओली आयोगको २५औं वार्षिकोत्सवमा सहभागी नभएको कुरा प्रष्ट भएको छ ।
आयोगका अधिकारीहरुका अनुसार, आयोगको रजत जयन्तिमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम निश्चित थियो तर बिना सूचना उनी गएनन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतले बताए अनुसार, निन्द्रा नपुगेकाले असहज भएर विहानै आयोजना भएको कार्यक्रममा जान नसकेका हुन् । प्रधानमन्त्री ओली सामान्यतया मध्यरातसम्म जागै बस्छन् । उनी केही न केही बिषयमा निकट सहयोगीहरुसँग कुराकानी गर्छन् र उनीहरुसँग विदा लिएपछि पनि उस्तै महत्वपूर्ण फायल पढेर मात्र सुत्छन् । कहिलेकाहीँ त उनी ओछ्यान पुग्दा तेस्रो प्रहरको भाले बासिसकेको हुन्छ ।
द्वन्दलाई निमन्त्रणा
प्रधानमन्त्री ओलीले आइतबार पार्टी निकट वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्छ भनेर उर्दी गरेका थिए ।
त्यसै दिन राजावादी समूहले गर्न लागेको प्रदर्शनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्तालाई त्यसविरुद्ध उत्रन निर्देशन नै दिए । ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई त्यसै तयारी गर्न निर्देशन दिए । जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले जोड दिएर भनेका थिए, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस् ।’
प्रधानमन्त्रीको अभिव्यक्तिले सोझै द्वन्दलाई निमन्त्रणा दिएको बुझ्न सकिन्छ । विरोध कार्यक्रमको आयोजक यसै पनि विरोधी मानसिकतामा हुन्छ भने प्रतिरोध गर्ने अर्को पक्ष पनि उस्तै मनस्थितिमा हुने नै भयो । यस्तो अवस्थालाई कुनै पनि तनावको स्वरुप बन्न नदिने तर्फ सकारको तयारी हुनुपर्नेमा प्रधानमन्त्री स्वयं नै द्वन्द वा भिडन्तलाई निमन्त्रणा दिन्छन् भने यो सर्वथा आपत्तिजनक बिषय हो ।
सत्ता सहयात्री नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले प्रधानमन्त्रीमाथि चर्को दवाव दिएर उनको भड्काउवादी अभिव्यक्ति फिर्ता लिन लगाएर जनतासमक्ष क्षमा माग्न लगाउनु पर्छ । यसमा सबैले मौनता साधेर बसे भने गत १५ चैतको अर्को संस्करण नआउला भनेर कसैले पनि भन्न सक्दैन ।
प्रतिक्रिया