नेपाली कांग्रेसमा पराजीतहरु मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रक्रियाबाटै अलग बसेका नेता रामचन्द्र पौडेल र १४औं महाधिवेशनमा पराजीत १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

वडा समितिदेखि केन्द्रीय कार्यसमितिसम्म मतदानद्वारा नेतृत्व चुनेको कांग्रेसले मतदाताको छनौटमा नपरेर पराजीत भएका नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको छ । सभापति देउवाले विधानको सुविधा प्रयोग गर्दा भर्खरै पराजीत भएका नेतालाई किन मनोनित गरे भनेर प्रश्न गर्न थालिएको छ । नेता पौडेल त आफू सर्वसम्मत उम्मेदवार बन्न नपाएपछि महाधिवेशन प्रक्रिया मै सहभागी थिएनन् । 

केन्द्रीय नेतृत्वमा नयाँ नेताहरु चुनिएपछि निकै उत्साहित भएका कार्यकर्ता सभापति देउवाको पछिल्लो निर्णयबाट खिन्न बनेको पाईएको छ ।

सभापति देउवाले नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । सिंह र निधि सभापतिमा पराजित भएका थिए । दोस्रो चरणमा दुवै जनाले देउवालाई समर्थन गरेका थिए ।

त्यस्तै, सिटौलाले सभापतिमा देउवालाई समर्थन गरेका थिए । गच्छदार र कोइराला उपसभापतिमा तथा महत महामन्त्रीमा पराजित भएका थिए । रेग्मी र विश्वकर्माले देउवालाई सघाउन उम्मेदवारी फिर्ता लिएका थिए ।

यसैगरी जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । शाही सहमहामन्त्रीमा, पौडेल महामन्त्रीमा र गुरुङ सभापतिमा पराजित भएका थिए ।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम मनोनीत गरेका हुन् ।

कांग्रेसको महाधिवेशनबाट पदाधिकारी सहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । कांग्रेस विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

 
 

 

प्रतिक्रिया