टेवल टेनिस खेलको व्यवसायिक प्रशिक्षण सुरु

बिर्तामोड । झापाको व्यस्त शहर बिर्तामोडमा टेबल टेनिस खेलको तालिम प्रदान गर्न लागिएको हो । 

बिर्तामोडका व्यवसायी तथा टेबल टेनिसका पूर्व खेलाडी सन्तोष अग्रवालको सक्रियतामा बिर्तामोडमा टेबल टेनिसको तालिम प्रदान गर्न लागिएको हो । झापा जिल्ला टेबल टेनिस संघले बिर्तामोड–५, को बिग ब्रदर कभर्ड हलमा यसको तालिम प्रदान गर्न लागेको जनाएको छ । तालिममा प्रशिक्षक प्रकाश राईले प्रशिक्षण दिने जनाइएको छ ।

संघका झापा अध्यक्ष सन्तोष अग्रवालले ओझेलमा परेको टेबल टेनिसको छवि अगाडी ल्याउन सबैले एकजुट हुनुपर्ने बताए । जिल्ला खेलकुद विकास समिति मातहतमा रहेको संघले कभर्ड हलमा अन्तर्राष्ट्रिय टेबल टेनिस फेडेरेसनबाट प्रमाणित तीनवटा बोर्ड राखेर तालिम प्रदान गर्न  सुरु गरेको हो । कभर्ड हलका सञ्चालक उमेश बोहराले संघको अनुरोधमा कभर्ड हल उपलब्ध गराएको बताइएको छ ।

हालसम्म बिद्यालयले टेवल टेनिसको गरिमा थामेका छन्, अग्रवालले भने यसलाई व्यवसायिक रुप दिएर अन्तराष्ट्रिय मञ्चबाट अवार्ड जित्ने अवस्था सृजना गर्न हामी अग्रसर भइरहेका छौं । उनले निकट भविष्यमा जिल्ला स्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिंदै यसअघि टेबल टेनिस खेल खेल्न नपाएका खेलाडीलाई प्रशिक्षण गर्न सहज अवस्था निर्माण भएको बताए ।

यसैबीच झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले टेवल टेनिस कभर्ड हलको उद्घाटन गरेका छन् । भण्डारीले अग्रवालको नेतृत्वको टिमले टेवल टेनिस खेलमा देखाएको सक्रियता लोभलाग्दो रहेको बताए । उनले यसको व्यवसायिक तथा दीर्घकालिन स्थायित्वको कामना गर्दै  जिल्ला खेलकुद समितिबाट आवश्यक पर्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । 
 

प्रतिक्रिया