वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ। गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभइ हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए। “तालमा हिम पहिरो झरेको हो। त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन। जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ। तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौं,”दाहालले भने।

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए। बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ।

मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ। तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ।  (नेपाल न्यूज बैंक)

प्रतिक्रिया