पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृखंलाको उपाधि

काठमाडौँ। हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ।

बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो। पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो। 

नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए। पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १ सय ७१ रन बनायो।

पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए। नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए। हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो।

पीएनजीले हिजो दुई खेल खेलेको थियो। पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो। यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक-एक अङ्क बाँडिएको थियो।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया