पीएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ। नेपालले पीएनजीलाई ८५ रनले पराजित गर्दै हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। घरेलु टोली हङकङसँग बर्षाका कारण खेल रद्द भएपछि अंक बाँडेको नेपाल मंगलबारको खेलमा विजयी भएसँगै फाइनलमा पुगेको हो।

मंगलबारको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ गरेका थिए। यो जोडीले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए।

विकेट किपर ब्याटर भण्डारीले २२ बलमा २७ रन बनाउँदा एक छक्का र दुई चौका प्रहार गरेका थिए। तर, क्रिजमा आएका कप्तान रोहित पौडेल भने फ्लप भए। उनले चार बल फेस गर्दा एक रन बनाएर पभेलियन फर्किएपछि नेपालले ८.१ ओभरमा ६५ रन हुँदा दोस्रो विकेट गुमेको थियो।

यसैगरी आरिफ शेखको ब्याट पनि शान्त रह्यो। उनले सात बल फेस गर्दा एक चौकाको मद्दतले चार रन जोडेर तेस्रो विकेटको रुपमा ९.३ ओभरमा ७० रन हुँदा पभेलियन फर्किए। ओपनर कुशल भुर्तेलसँग सन्दीप जोराले साझेदारी गर्दै नेपालको स्कोर अघि बढाएका थिए। नेपालको स्कोर १४.३ ओभरमा १२० रन पुगेका बेला कुशल व्यक्तिगत ५९ रनको अर्धशतकीय पारि खेल्दै पभेलियन फर्किए। 

उनले चार छक्का र चार चौका प्रहार गरेका थिए। आक्रामक पारि खेलेका सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रन जोडेर आउट भएका थिए। सन्दीप आउट हुँदा नेपालले १७.५ ओभरमा १६० रन बनाएको थियो। छैटौं विकेटको रुप्मा लोकेश बम रनआउट भएका थिए। उनले छ बल फेस गर्दा दुई छक्काको मद्दतले १४ रन बनाएका थिए। 

गुलसन झा र विवेक यादवले नेपालको स्कोर दुई सय नजिक लगेका थिए। झाले ज्ञद्द बलमा १५ रन बनाउँदा एक छक्का प्रहार गरेका थिए भने विवेक यादवले चार बलमा १९ रनको आक्रमक पारि खेले। उनले तीन छक्का प्रहार गर्दा नेपालले निर्धारित ओभरमा छ विकेट गुमाएर १९८ रन बनाएको थियो।

पीएनजीका लागि असद भालाले दुई विकेट लिँदा नोसिना पोकाना, जोन कारिको र नोरमान भानुवाले एक एक विकेट लिए। १९९ रनको विशाल लक्ष्यसहित मैदान उत्रीएको पीएनजी १६.१ ओभरमा ११३ रनमा रोकिए पछि नेपाल ८५ रनले विजयी भयो। 

नेपालविरुद्ध पीएनजीले सुरुआत भने मध्यम गरेको थियो। तीन ओभरमा ३२ रन जोडेको पीएनजीले पहिलो विकेट खेर फालेको थियो। टोनी उराले छ बलमा १३ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरेका थिए।

दोस्रो विकेटको रुपमा सेसे बोउले १३ बलमा २१ रनको पारि खेलेर रन आउट भए। उनले एक छक्का र दुई चौका प्रहार गरे। उनलाई गुलसन झाले रनआउट गराएका थिए। कप्तान असद भाला धेरै बेर टिकेनन्। उनले ११ बलमा नौं रन बनाउँदा एक चौका प्रहार गरेका थिए। त्यसपछि हिरि हिरिले पारि सम्हाल्ने प्रयास गरे पनि ८.२ ओभरमा ७३ रन हुँदा पीएनजीले चौथो विकेट गुमाउन पुग्यो। 

उनले १९ बलमा दुई छक्का र एक चौकाको मद्दतले २८ रन बनाए। पाँचौं विकेटको रुपमा चार्लेस एमिनी नौं बलमा नौं रनको पारि खेलेर आउट भएका थिए। यस्तै, लिगा साका ११.१ र नोरमान भानुवा ११.२ ओभरमा खाता नखोली कुशल भुर्तेलले आउट गरेपछि पीएनजी दबाबमा आएका थिए।

१४ औं ओभरमा १०२ रन पुग्दा पीएनजीले आठौं विकेट गुमाएको थियो। पीएनजीका किपलिन डोरिगा आठ रन बनाएर आउट भएका थिए। पीएनजीले ११२ रनमा नवौं विकेट गुमाएको थियो।

नवौं विकेटको रुप्मा नोसिना पोकाना १० बलमा १२ रन बनाएर आउट भए। उनले एक छक्का प्रहार गरेका थिए। अन्तिम विकेटको रुपमा जोन कारिको दुई रन बनाएर रन आउट भए।  

नेपालका कुशल भुर्तेलले चार ओभर बलिङ गर्दा १२ रन खर्चिएर चार विकेट लिए। यस्तै, प्रतिश जिसी भने महँगो सावित भए। उनले चार ओभरमा ४० रन खर्चिएर दुई विकेट हात पारेका थिए। आकाश चन्दले तीन ओभरमा १६ रन खर्चिएर एक विकेट लिँदा, करण केसीले दुई ओभरमा २४ रन खर्चिए। रोहित पौडेलले दुई ओभरमा १२ रन खर्चिएका थिए। गुलसन झाले एक ओभरमा सात रन खर्चिएर एक विकेट हात पारे।

त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत मंगलबार (आजै) पीएनजी र हङकङबीच प्रतिस्पर्धा हुने छ। उक्त खेलको विजेताले उपाधिका लागि बुधबार नेपालसँग खेल्ने छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया