विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौँ। टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो। 

उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले। ३६ बलको सामना गरेका उनले ११ चौका र ८ छक्काको मद्दतमा १०१ रन बनाए।  यो उनको कीर्तिमानी शतक हो। उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडी बनेका छन्।

३३ बलमा शतक बनाएर उनले यसअघि कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्। कुशल मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएका थिए। 

यस्तै, नामिबियाका मलान क्रुगरले मेडन अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५९ रन जोडे।

नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिँदा करण केसी र अविनाश बोहराले समान एक–एक विकेट लिए।(नेपाल न्यूज बैंक) 

प्रतिक्रिया