केएमसीमा विश्वकै दुर्लभ कलेजो क्यान्सरको सफल उपचार

काठमाडौं : एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । 
काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर सेल नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको दाबी गरेको हो ।

एक सेन्टिमिटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । 

बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको उनको जिकिर छ । 

अहिले बिरामीको अवस्था राम्रो रहेको उनले बताए । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरूमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । 
 

प्रतिक्रिया