संस्मरण

को हुन् ती रहस्यमय मान्छे ?

-उदय निरौला

मैले नचाहँदा नचाहँदै पनि मलाई संसारमा ज्योतिषी बनायो। मैले आफ्नो रहरले मात्र ज्योतिष विद्या अध्ययन गर्नुको पछिको कारण पहिलै चर्चा गरिसकेको छु। पिताजीका साथमा भएका पुस्तकहरू र पिताजी नै मेरो पहिलो गुरु हुनुभयो। घरको माथितलामा टिन र फलामका ठूलाठूला बाकस थिए। त्यो टिनको बाकस सानोतिनो दराज नै थियोे। त्यसमा भरि किताब थिए। पुराणहरू र ज्योतिषका। भाव कुतूहल, लग्नचन्द्रिका, सूर्य सिद्धान्त, कालामृत, पारासरिय सिद्धान्त, लघुलपारासारी, मध्य पारासारी, जातक पारिजात, हस्तरेखा बिज्ञान, इत्यादि। 

यी पुस्तक कक्षा छ पढ्दादेखि नै मैले पढेँ। नजानेका कुराहरू पिताजीसँग नै सिकेँ। षोडष बर्गसम्मको जन्मकुण्डली त म १३ बर्षकै उमेरमा बनाउँथे। तथापि पनि मैले ज्योतिषी बन्नेछु भनेर पढेकै होइन। एसएलसी सकिएपछि म पढ्ने र पढाउने दुबै काममा ब्यस्त थिएँ। गणित र विज्ञान बिषयको म राम्रो बिद्यार्थी भएकाले गणित र विज्ञान नै पढाउँथेँ। बिराटनगरमा विज्ञान बिषयको कलेज  देवकोटा चोक नजिकै मैले पढ्छु भनेर मनमा अठोट पनि गरेको थिएँ। यद्यपि भाग्यमा थिएन मैले पढिन।

आइएडको दुई सेमेष्टर पासगरिसक्दा मैले प्राइभेटबाट आइए पासगरेको कारण त्यो पनि मैले पूरा गर्नुको कुनै औचित्य रहेन। बाँकी बिए मैले पाटन संयुक्त क्याम्पसबाट पास गरिसक्दा म सुब्बा पास भएर सरकारी जागिरे बनें। त्यसपछि साथीहरूसँग म एमपिए क्यापस डिल्लीबजारमा पढ्न थालेँ। एमालेका माननीय बिजय सुब्बा, मोहन मास्केहरू मेरा कक्षासाथी हुनुहुन्थ्यो। मोहन मास्के सायद सहसचिवबाट रिटायर्ड हुनुभयो।

ज्योतिषी नबन्ने बिचार बिचारमै सीमित भयो र मेरो प्रतिभाका कारण टेलिभिजनले मलाई एउटा ज्योतिषी बनाइदियो। कार्यक्रम संचालन गरेर सामाजीक मान्छे बन्न अध्ययन उत्तिकै जरुरी भएको कारण अनेक ज्योतिषका पुस्तकहरू पढेँ। त्यो बेला अहिलेजस्तो सफ्टवेयर नआएकोले कसैको चिन्हा हेर्न, कार्यक्रममा सहि गलत छुट्याउन पनि पुनः गणित चाहिन्छ फलित त्यतिकै चाहिन्छ तसर्थ धेरै अध्ययन गरेँ। संहिता ज्योतिष त अझै बढी अध्ययन नगरे ज्योतिष गलत हुनजाने भएकाले यसतर्फ बढी नै अध्ययन गरेँ, जसलाई मेदिनी ज्योतिष भनिन्छ भारतमा। कहाँ कवि कहाँ ज्योतिषी। कविमा पछि पनि पारो ज्योतिषले केही समय यद्यपि प्रतिभा हो पुनः सँगेटेँ साहित्य। एकजना जानेमानेका म भन्दा सिनियर ज्योतिषीले एकदिन मसँग आफ्नो अनुभूति सुनाउने क्रममा ‘चालीस बर्ष ज्योतिषी हुँदा मैले कुनै दिन पनि कुन ग्राहकले कति पैसा दिन्छ भनेर सोचिन यद्यपि एकदिन एक ग्राहकले उसले राखेको पैसामा ध्यान गयो त्यो दिनदेखि ज्योतिषी छाडें’ भन्नुभयो। 

मैले किन भनेर सोधेँ, ‘ज्योतिषमा जब पैसामा ध्यान जान्छ तब भविष्यबाणी मिल्दैन।’ मलाई हो जस्तो लाग्यो। म अहिले साहित्यमा समय दिन्छु ज्योतिषमा दिन्न। कोही आइहाले त्यतिकै फर्काउँदिन यद्यपि पैसामा वहाँले भनेदेखि मैले पनि ध्यान दिइनँ र अहिले पनि दिन्नँ। कोही आओस् नआओस् अपेक्षा पनि गर्दिन तसर्थ  आनन्दित नै छु नहेरे पनि हेरे पनि। यद्यपि जानेको  बिज्ञान भएको कारण भवष्यमाथि लेखिरहन्छु र यो मानिस के कारणले यस्तो भयो? भन्ने जिज्ञासाकालागि बसेर कुण्डली बनाएर अध्ययन गरिरहन्छु जसले गर्दा अरु बढी अध्ययन हुन्छ। एउटा विशेषता चैँ मेरो के छ भने मलाई कसैको कुन्डलीले आकर्षित गर्यो भने त्यो कुण्डली म दिमागमा यसरी राख्छुकि जो कहिल्यै बिर्सन्न। धेरै मानिसहरूका कुण्डली मलाई कण्ठै छ।

अँ, ती रहस्यमय मान्छे ठूलो साधक हुनुहँदो रहेछ। एक दिन वहाँले मेरा टाउकोमा हात राखेर २०४९ सालको मङ्सिरमा ‘तपाईंलाई आज म केही अनुभूति गराउँछु’ भनेर भन्नुभयो। एक मिनट मेरो टाउकामा हात राख्नुभएको थियो। शरीरभित्र तलबाट माथि केही सरर्र चढेको अनुभूत भयो। मैले केही भनिन। वहाँले ‘ल जानुहोस् अब वाक्क आएजस्तो हुनसक्छ नडराउनु।’ भन्नुभयो। त्यसपछि म त्यहाँबाट हिँडे। त्यो बेला म नापीमा जागिरे थिएँ। अफिस गएँ। हाजिर गरेर मानकाजीको केन्टिनमा यसो चमेना गरेँ। दिनभरि अफिसको काम गरेर भक्तपुर जान म गाडी चढेँ। पुग्नेबेलामा भाउन्न होला जस्तो भयो बसमा। निकै गा¥हो भयो। पेट खालि भएकोले होला मनैमन सोचेँ। बल्ल गाडी दुधपाटीमा रोकियो। ओर्लनासाथ पानी पर्यो। जाडोको बेला अलकति पानीले टाउको भिजायो र त्यो भाउन्न पनि हरायो। 

दूधपाटीमा नरोकिएर घर पुगियो। चियाखाजा खान भन्दा पनि खानेकुरा खाएर म अलि छिटै सुतेँ। सुतेपछि शरीरमा सरर्र बिहानको जस्तै केही दौड्यो र माथि आयो, तलका हातखुट्टा चलेनन्। टाउकोसम्म चिसो भएझैँ भयो र एकप्रकारको  आनन्द आयो। निदाको छैन तर शरीर पनि चल्दैन धेरैबेरसम्म यताको कुनै कुरा आएन अर्कै संसारमा पुगेको मनमन अनुभूत भयो। राति १२ बजेसम्म त्यस्तै भयो र एकैचोटि त्यो नशाजस्तो उत्रियो। किचनमा गएर चिया पकाएर पिएँ। शरीर आनन्ददायी भएको र मनोबल निकै बढेको महसुश भयो। भोलिपल्ट देखि मनोबल धेरै नै बढ्यो। दुइचारदिनपछि म वहाँ बस्नुभएको ठाउँमा गएँ र अनुभूती सुनाएँ। वहाँले ठीक छ भन्नुभयो र कसैलाई नभन्नु भन्नुभयो, मैले कसैलाई भनिन पनि। त्यो वहाँका अनुसार एकखालको सबिकल्प शक्तिपातबाट भएको समाधी भन्नुभयो। यसपछि मैले आध्यात्मिक पुस्तकहरूको  अध्ययन धेरै गरेँ। ओशोले ध्यानको १०८ विधिहरुमा र खप्तड बाबाले वहाँको धर्म  बिज्ञान भाग ३ मा त्यसबारे  लेखेको भेटेँ। 

यसपछि त्यस्तो होस् भन्ने सोचेर धेरै ध्यान गरेँ तर भएन। २०५१सालमा एकदिन बिहान ध्यानमा बसेकाबेला यो शरीर चार भागमा छुटिएको देखेँ। एउटा बर्तमान ध्यान गरेको शरीर र अरु सूक्ष्म तीन पारदर्शी शरीर। त्यसपछि कानमा धेरै मन्त्र नादबाट आए सबै नोट गरेर राखेँ। एकदिन ध्यान अचानक लाग्यो रमणीय बाहिरको फूलैफूल र खेत अनि धान झुलेको देखियो र त्सपछि फरर पुस्तकका पानाहरू बेदका पल्टिएको मन्त्रैमन्त्र भएको करिबकरिब आधाघण्टा दोहरियो। पछिपछिसम्म त्यो देखेँ। यद्यपि त्यो ठाउँ अहिलेसम्म भेटेको छैन।

त्यसपछि कुनै शिद्ध बाबा चारपटकसम्म मेरो घरमा आउनुभयो। लामो सेता दारी टलक्क टल्किनुले सुन्दर देखिने। आध्यात्मिक भन्दा पनि रहस्यमय गफहरू गर्ने वहाँ  बिनिताको हातले बनाएको चिया पनि पिउनुभयो। त्यसपछि  ‘पछि फेरि आँउछु’ भनेर २०७० सालमा जानुभयो पुनः आउनुभएको छैन। उहाँले भन्नुभयो ‘उदयजी तपार्इंका अघि अहिले साक्षात ब्रम्हा, बिष्णु महेश आउनुभए पनि बिश्वास गर्नुहुन्न किनकि समय आएको छैन चिन्ने। शरणागत नभएसम्म केही हुन्न तसर्थ आफ्नो काम गरिरहनुहोस्।’ मैले पहिलाको जस्तो समाधिलगाउन शक्तिपातको लागि एकदुई पटक भने वहाँले भन्नुभयो, ‘चामलको बोराबाट चामल झिकेर खाने मानिसले किसानले  कति दुःख गरेर त्यो चामल बनाउँछ भन्ने थाहा हुँदैन। अर्काले फलाएको धानले हुन्न आफंै खेत जोतेर फलाउनु पर्छ’ भनेर पुनः कहिल्यै टाउकामा हात राख्नु भएन। यस्तो हुनेरहेछ गुरु दीक्षा। खै दैव जाने।

विचित्रका अनुभूती हुने जो भनेर साध्य हुँदैन अनेकौं हुन्छ। कर्मको कारण पाप काट्न (नाडीशोधन गर्न) धेरै कठिन छ पीडा पनि हुन्छ यो सबै लेख्न पनि सकिन्न।

अँ, एकपटक हामी पाँच सात जना थियौं। वहाँकै निर्देशनमा रातभरि दक्षिणकाली माथि आमाको मन्दिरमा मन्त्र बेग्लाबेग्लै वहाँले दिएको संख्यामा जप्नु  पर्ने वहाँकै अगाडि डा.सन्तोष त राम्ररी सफलभए यद्यपि हामी तीनजनालाई धेरै गा¥हो भएको थियो। चारबजेसम्ममा सकियो बेलुका वहाँको बासस्थानको आँगनमा बनाएको यज्ञमा हवन गर्नुपर्नेछ। दिउँसो वहाँकै प्रवचन र चटक हेरेर बस्यौं।

वहाँ भन्नुहुन्छ, ‘ल बिचार गर्नुहोस् के के को बास्ना  चल्छ सबैले पछाडि मलाई लेखेर दिनु। मैले बास्ना नम्बर एकमा अत्तर, बास्ना २ मा कटहर, बास्ना ३ मा बर्षाको खोलाको बाढी यस्तै यस्तै विविध बास्नाहरू आउने यसलाई भनिँदोरहेछ ‘गन्ध सिद्धी।’ यस्तै पानीको स्वाद फरक हुने। कानको नाद सुन्न भन्नुभयो मस्तिष्क शून्य हुने र अनेक नादहरू आवाजहरू कानमा आउने।

यस्तै एकपटक डोलेश्वर महादेव अहिले जस्तो थिएनन्। जंगल र एक मन्दिर अनि एउटा दक्षिणपट्टीको घर डरले मान्छे धेरै कम जान्थे। राति हवन गर्दागर्दै ठूलो हुरी बतास र पानी दर्कने छाँट आयो। वहाँले हवनमै बसेर दाहिनेहात मुट्ठी पारेर आकाशलाई देखाउँदै र पुनः हात खोलेर दक्षिणतिर मान्छे धकेलेजस्तो गरेको आँधी सबै रोकियो र पानी पर्नलागेको पनि हरायो, हामी छक्क परेर त्यो दुई घण्टाको हवन लगातार नउठेर नै सक्यौं। यस्ता प्रकारका अनुभव प्रशस्तै गरेँ मैले। अहिले पनि सम्झँदा छक्क पर्छु।

 एकदिन वहाँकै बासस्थानमा ‘राजाराजा’ नभन्नुहोस्, राजाको हिँड्ने दिन धेरै छैन अब’ भनेर मसँग भन्नुभयो। अरु पनि मानिस थिए। त्यो बेला म मधुपर्कको संपादक थिएँ।

पछि राजा निस्क्रिय अवस्थामा नारायणहिटीमा बसेका बखत एकजना दरवार नजिकैका मानिससँग भन्नुभयो,‘यदि राजाको गद्दीमा बस्ने मनभए मलाई भेट गराउनुहोस् म उनलाई धेरै त होइन तीन पुस्ताको बरदान दिन्छु।’ ती मानिस छक्क परेर कुरा के हो?  भन्दै मसँग सोध्न आएका थिए। मैले महाराजसँग भेट्ने चाँजोपाँजो मिलाएर वहाँलाई पठाएँ। ४५ मिनट  कुराकानी भयो। के कुरा भयो मलाई थाहा भएन तर बाहिर आएर ‘तपाईंको लागि गैदिएको हो ऊ अब गद्दीबाट चाँडै जान्छ’ भन्नुभयो। नभन्दै त्यस्तै भयो। ‘अब आउने भए मैले उनलाई भेट्ने होइन राजाले मलाई भेट्नु पर्छ’ भनेको सम्झन्छु। बस् त्यति हो। रहस्यमय मान्छे। सबै कुरा हामीलाई नबताउने। समय आउँछ अनि देख्नुहोला भन्ने अचम्म लाग्छ।

एकदिन धेरै अघि गुलाव खेतान धेरै आध्यात्मिक कुरा गरिरहने भएको कारण लिएर गएको थिएँ। एक घण्टा केके कुराभयो थाहा छैन। बाहिर निस्केर उनले भने, ‘गुरु अन्तरयामी हुनुहुन्छ।’  

 


 

प्रतिक्रिया