बङ्गलादेश क्रिकेट कप्तान शकिब आगामी निर्वाचन लड्दै

ढाका । बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गरेका छन् । आगामी जनवरी ७ मा हुने आम निर्वाचनका लागि उनले सत्तारूढ बङ्गलादेश अवामी लिगबाट उम्मेदवारीका लागि नामाङ्कन माग गरेकाछन् । 

अवामी लिगका संयुक्त महासचिव बहाउद्दीन नसिमका अनुसार शकिबले चुनावमा तीन निर्वाचन क्षेत्रबाट लड्नका लागि शनिबार पार्टीबाट नामाङ्कन फाराम लिएकाछन् । प्रमुख प्रतिपक्षीहरूले सो निर्वाचन बहिष्कार गर्ने तयारी गरिरहेका छन् । 

क्रिकेट अलराउन्डर शकिबलाई स्वागत गर्दै संयुक्त महासचिव नसिमले भने, “उहाँ सेलिब्रिटी हुनुहुन्छ र देशका युवाहरूमाझ लोकप्रिय हुनुहुन्छ ।” शकिबको उम्मेदवारीको पुष्टि प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा रहेको सत्तारूढ पार्टी संसदीय बोर्डले गर्नुपर्नेछ । नसिमका अनुसार शकिबले आफ्नो दक्षिण–पश्चिम गृहजिल्ला मगुरा वा राजधानी ढाकामा कुनै एक स्थानबाट निर्वाचन लड्ने आशा व्यक्त गरेकाछन् । 

पछिल्लो १५ वर्षदेखि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको नेतृत्व गरिरहेकी हसिनामाथि मुलुकमा कठोर शासन गरेको आरोप लगाइएको छ । यदि विपक्षी दलहरूले निर्वाचनलाई बहिष्कार गरेभने उनी चौथो पटक सत्तामा फर्कने करिब निश्चित    छ । 

हसिनाले मुलुकमा प्रभावशाली आर्थिक वृद्धि हासिल गरेकी छन् तर पश्चिमी मुलुकहरूले प्रजातान्त्रिक मूल्य मान्यता खस्केको भन्दै उनलाई चेतावनी दिएका छन् । साथै पछिल्ला दुई निर्वाचनमा उनीमाथि विपक्षीहरूले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् । 

क्रिकेट खेल अत्यन्त लोकप्रिय भएको दक्षिण एसियामा क्रिकेटरहरूका लागि राजनीतिमा आउनु कुनै नयाँ कुरा होइन । यद्यपि खेल करियरकै क्रममा राजनीतिमा आउनु दुर्लभ हो । पूर्वक्रिकेट कप्तान मशरफ मुर्तजा सन् २०१८ मा राजनीतिामा प्रवेश गरेका थिए र सोही वर्ष उनी सत्तारूढ दलबाट विधायक निर्वाचित भएका थिए । राजनीतिमा ध्यान केन्द्रीत गर्न खेल छाड्नुअघि उनले सन् २०१९ विश्वकपमा बङ्गलादेशको नेतृत्व गरेका थिए। 

तीन वटै ढाँचामा बङ्गलादेशका नियमित कप्तान शकिब अहिले औँलाको चोटबाट ग्रसित छन् । सो चोटले उनलाई न्युजिल्यान्डविरुद्धको आगामी टेस्ट शृङ्खला छोड्न बाध्य बनाएको छ । उनलाई विश्वकपमा श्रीलङ्काविरुद्धको प्रतियोगिताका क्रममा चोट लागेको थियो । 

सोही प्रतियोगितामा उनले एन्जेलो म्याथ्युजविरुद्ध एउटा असामान्य अपिल गरेपछि चर्चा बटुलेका थिए। उनको सोही अपिलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा म्याथ्युज पहिलो पटक टाइम आउट भएका थिए। एएपपी
 

प्रतिक्रिया