कांग्रेसका महामन्त्री जाजरकोट जाँदै, त्यहीँ बसेर समन्वय गर्ने

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदैछन्। उनीहरुले जाजरकोटमै बसेर राहत र पुनस्र्थापनाको अनुगमन गर्दै सरकारलाई सुझाव दिने छन्।

जाजरकोटको भूकम्पबाट स्वदेश र विदेशमा रहेका समस्त नेपाली मर्माहत र स्तब्ध भएको स्थिति भएकाले यो विपत्तिको सामना सबै राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर एकताबद्ध भएर गर्न नेपाली कांग्रेसले आव्ह्वान गरेको छ।  नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ महामन्त्रीद्वयको नेतृत्वमा गठन गर्दै विभिन्न कार्यविभाजन पनि गरेको छ।

जसमा उद्धार कार्यमा स्थानीय पार्टीपंक्ति परिचालन, सरकारको राहत कोषमा ५० लाख रुपैयाँ सहयोग घोषणा र हस्तान्तरण, देशभरका आफ्ना सार्वजनिक कार्यक्रमहरु स्थगन, कयौं जिल्लाबाट पार्टीका स्वयंसेवकहरु राहत लिएर प्रभावित क्षेत्रमा, शुभेच्छुक संस्था ‘डिडिए’ को संयोजनमा चिकित्सक र औषधी प्रवन्ध, पार्टीको धारणा र सुझाव (तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने अत्यावश्यक कार्यहरू) सहित प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराईने भनेको छ । महामन्त्रीहरु ‘७ बुँदे कार्य बिषय’ मा महामन्त्रीद्वय केन्द्रीत रहँदै पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्र आज पुग्ने कांग्रेसले जानकारी दिएको छ। 
 
यस्ता छन् ७ वूँदे कार्ययोजना

(१) उद्वार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भए पनि राहत सामग्री अझै पनि कयौं पीडितमा नपुगेको भनेर संचार माध्यम मार्फत उजागर कमजोरीहरुको वास्तविकता पहिचान गरि अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

(२) संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारी निकायहरु बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न÷गराउन थप सुझाव र सहजीकरण ।

(३) उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरुबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न÷गराउन सुझाव र सहजीकरण गर्ने,गराउने ।

(४) उद्धार र राहत क्रममा नेपाली कांग्रेस पार्टीको स्थानीय भुमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेकोे नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारीतामा प्रेरित गर्ने तथा दीर्घकालीन रुपमा पुनस्र्थापनामा सम्पादन गर्नुपर्ने बिषयहरुको अध्ययन गर्ने ।

(५) घाइतेको उपचारमा ध्यान केन्द्रीत गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भुकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

(६) सुत्केरी, अपांगता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई बिशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

(७) पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाली कांग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रुपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरु आईपर्न सक्छन्, सरोकारवालाहरुको सुझाबहरु के के छन्, आदि बिषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरुप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्याउने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया