सुपरओभरमा चुक्दा नेपाल उपविजेता

काठमाडौं। घरेलु टोली नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जितेको छ।

सुपर ओेभरमा जितको लागि २२ रनको लक्ष्य पाएको नेपालले सहजै पराजित भयो। सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए। ओमानका बिलाल खानले बलिङ गरेका थिए। बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच आउट गरेका थिए।

कुशल मल्ल ब्याटिङमा आएका थिए। दोस्रो बल कुशललाई योर्करमा डट राखे। तेस्रो बलमा एक रन लिएका थिए। चौथो बलमा गुलशनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो। पाँचौं बलमा कुशल मल्लले चौका हाने। अन्तिम बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन।

सुपर ओभरमा नेपालका अभिनाश बोहराले २१ रन दिएका थिए। ओमानका अकिब इल्यास र मोहम्मद नदिम ब्याटिङमा आएका थिए। पाँच बलमा २० रन बटुलेको थियो। अनि्तम बलमा एक रन जोडेपछि सुपर ओभरमा २१ रन बनाएको थियो।

त्यसअघि जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो। त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो। नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो।

अन्तिम बलमा ओमानले एक रन बटुलेपछि खेल सुपर ओभर भएको थियो। ओमानका कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो। ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो।

नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो। उता ओमानले समूह चरणमा सबै खेल जितेको थियो।

सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो। ओमानले २०१६, २०२१ र २०२४ मा गरि तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया