आइसिसी टि २०

उपाधिका लागि नेपाल र ओमान भिड्दै

 

काठमाडौं। नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएर दुवै टोली विश्वकपमा पुगेका थिए। 

ओमानसँग समूह चरणको खेलमा पाँच रनको पराजय भोगेको नेपालले शुक्रबार युएईलाई ८ विकेटले हराउँदै विश्वकप यात्रा सुरक्षित गरेको थियो। नेपाली टोलीको मनोबल उच्च छ। आज घरेलु मैदान र दर्शकको साथले नेपाल झनै बलियो बन्नेछ । ओमानले पनि जारी खेलमा राम्रो प्रदर्शन गरेको छ। यी दुई टोलीबीचको खेल आज निकै रोचक हुने देखिन्छ।

नेपाली टोलीका युएईविरुद्ध मैदान आएका दीपेन्द्रसिंह ऐरीले भने फाइनल खेल चोटका कारण खेल्ने छैनन्।

नेपालको रोहित पौडेल र ओमानको जिशान मकसुदले आइतबारको खेलको कप्तानी गर्नेछन्।
 

प्रतिक्रिया