मलेसियालाई ६ विकेट हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

काठमाडौं। घरेलु टोली नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ।

मङ्गलबार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जितसहित अन्तिम चारको यात्रा तय गरेको हो। पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो। नेपालको जितले ओमान पनि सेमिफाइनल पुगेको छ।

नेपालको जितमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरे। उनले ३४ बलमा ६५ रन बनाए। उनले ७ छक्का र २ चौका प्रहार गरे। 

त्यस्तै कुशल भुर्तेलले ४३ र आशिफ शेखले ३२ रन बनाए। 

त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो। नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्ने छ। यो खेलले समूह विजेता र उपविजेता तय गर्ने छ।(नेपाल न्यूज बैंक)

प्रतिक्रिया