त्रिकोणात्मक टी–२० आई सिरिज: उपाधिकालागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच आज फाइनल प्रतिस्पर्धा हुँदैछ । 

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो । हङकङसमेत सहभागी सिरिजमा नेपाल र युएई शीर्ष दुईमा परेसँगै फाइनलमा उपाधिकालागि भिड्न लागेका हुन् ।

डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । यसअघि भएका ४ खेल मध्ये नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा युएई दोस्रो भएर फाइनल पुगेको हो । 

टी–२० आईमा नेपाल र यूएईबीच हालसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएईले तीन वटा खेल जितेको छ ।  नेपाली टोलीका लागि चिरपरिचित प्रतिस्पर्धी मानिने टोली युएईसँग आज हुने खेल रोचक हुने मानिएको छ । (नेपाल न्यूज बैंक)
 

प्रतिक्रिया