प्रमुख प्रतिपक्षको गर्जनः ‘गठबन्धन दलका परिवारका सदस्यले शासन गरेका छन्’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेको आरोप लगाएका छन्। 

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान कानून र राज्य प्रणालीले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेको टिप्पणी गरेका हुन्। तर उनले गठबन्धन दलमध्ये कुन दलसँग सम्बन्धित कुन परिवारका सदस्य भनेर चिनाउन चाहेनन्। 

ओली भने, ‘इतिहासको कुन सरकारसँग यसलाई तुलना गर्ने। राजनीति र अपराधमा फरक देखिन छोड्यो। आर्थिक संकट एकातिर शान्ति सुरक्षा विग्रँदो अर्कातिर संविधान कानून र राज्य प्रणालीले नचिनेका विचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिहरेका छन्। गठबन्धनका दलका लागि कोही संविधान कार्यान्वयन हुनुपर्ने होईन, त्यस बाहिर मनपरि कार्यान्वयन भईराख्या छ।’ 

उनले काम गरिरहेका डाक्टरहरुले एकै चोटी विदेशजान पासपोर्ट लिईरहेको भन्दै  सक्षम जनशक्ति मात्र नभएर सक्षम नभएकाहरु पनि काम गर्न पाउने पनि भागिरहेका भनेर टिप्पणी गरे। 

न्यायालय गठबन्धनको विभाग 

ओलीले सरकारले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग जस्तो बनाउन खोजेको आरोप पनि लगाए। 

उनले सरकारले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता, स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको भन्दै न्यायालयलाई गठबन्धनको विभाग बनाउन खोजेको आरोप लगाएका हुन्। 

‘गठबन्धनले जन्माएको दुई वटा सरकारले न्यायालयको गरिमा, निष्पक्षता, स्वच्छता, स्वतन्त्रता र समग्र उचाईमाथि पटक पटक प्रहार गरेको छ। न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो?’ 

उनले भने, ‘सम्भव छैन, हामी पनि छौँ यो देशमा। हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ। तपाईँहरूको विभाग बनाउन दिँदैनौँ।’

उनले न्यायाधीश नियुक्ति र सरुवा ‘आइसवर्ग’ भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान रहन सचेत गराए।

त्यसैगरी ओलीले आफूमाथि सरकारले नियोजित आक्रमण गराएको, सभामुख र राष्ट्रपति पदको मर्यादा भुलेर दुरुपयोग गरेको जस्ता आरोपहरु ग्ठबन्धन दलहरुमाथि लगाए। (नेपाल न्यूज बैंक) (फायल तस्बिर: बालकोटको बार्दलीमा प्रचण्ड र ओली) 


 

प्रतिक्रिया