बोहराटारमा कुरा मिलेन, आज चाक्सीबारीमा मिल्ला ? 

 

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको विकल्पमा अहिलेसम्म साझा उम्मेदवार तय हुन सकेको छैन । 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबिच साझा उम्मेदवार तय गर्नेबारे मतैक्यता नभएपछि यो विषय कांग्रेसजनमा पेचीलो बन्दैछ । 

कथित संस्थापनइतर पक्ष सभापतिको उम्मेदवार टुंगो लगाउन मंगलबार पनि माथापिच्ची गर्र्दैछ । प्रदेश अधिवेशनलगत्तै सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा भएको छलफलले कुनै निश्कर्ष ननिकालेपछि मंगलबार ठमेल, चाक्सीबारीस्थित प्रकाशनमान सिंहको निवासमा नेताहरु गम्भीर छलफलमा जुटन लागेका हुन् । 

सभापतिका चार दावेदारमध्ये अहिलेसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शसांक कोइरालाले केही हदसम्म लचकता देखाएका छन् । सहमति भएको खण्डमा आफुहरु सभापतिको दाबेदारी छाडन तयार भएको पौडेल र डा. कोइरालाले बताउँदै आएका छन् । 

मुख्य गाँठो पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रिय सदस्य डा. शेखर कोइरालाबिचको रस्साकस्सी नै हो । दुबैले कुनै हालतमा सभापतिको दाबेदारी नछाडने मुड बनाइरहेका छन् । 

अहिलेसम्म पार्टीमा भएका हरेक निर्वाचनमा आफुले सर्वाधिक मत ल्याएको, पार्टीमा लोकप्रिय भएको आधारमा आफु नै सभापति हुन योग्य भएको प्रकाशमानको जिकिर छ । आफुलाई सभापति बनाएमा अन्य पदमा जुनसुकै सम्झौता गर्न तयार रहने प्रकाशमानको तयारी देखिन्छ । तर, डा. शेखर मानिरहेका छैनन् । 

दबाब समूह शक्रिय

उता, देउवा इतर समूहमाथि अविलम्ब साझा उम्मेदवार तय गर्न युवा पुस्ताले दबाब दिइरहेको छ । मंगलबार चाक्सीबारीमा युवा पुस्ताका नेताहरुले समेत गएर शिर्ष नेताहरुलाई दबाब दिने तयारी गरेका छन् । 

सहमहामन्त्रीका दाबेदार बद्री पाण्डेयका अनुसार मंगलबारको वैठकबाट पनि नेताहरु सहमतीमा नआएको खण्डमा देशव्यापी रुपमा दबाब सिर्जना गर्ने तयारी भइरहेको छ । 

‘हामीले चार वर्षदेखि यी नेताहरुलाई मिलाउने कोशीस गर्दै आयौं, अहिलेसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सक्नुभएन’, पाण्डेले भने, ‘नेताहरुलाई यो अन्तिम मौका हो ।’

चाक्सीबारी वैठकमा पनि नेताहरुविच कुनै सहमती हुन नसके पूर्व र वर्तमान जिल्लासभापति, प्रदेश सभापति आदिले छलफल गरेर विकल्प अघि सार्ने पनि पाण्डेले बताए । तर, बुधवारसम्म नेताहरुबिच सहमती हुनेमा आफु आशाबादी भएको उनले बताए । 
 

प्रतिक्रिया