महामन्त्री गगन थापाले नेपाली कांग्रेसका भ्रातृ सङ्गठन चलायमान बनाउने

मङ्गलबारे, २ भदौ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताउनुभएको छ । 

    इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उहाँले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । 

    केही शुभेच्छुक संस्थाको जिल्ला तथा केन्द्रीय महाधिवेशन भइसके पनि भ्रातृ सङ्गठनहरुको महाधिवेशन गराउन पार्टीले पहल गर्नुपर्ने उहाँको भनाइ छ । यसमा आफ्ना तर्फबाट आफू लाग्ने र आफ्नो ठाउँबाट सबै लाग्न जरुरी रहेको उहाँको भनाइ छ । 

    नेपाली कांग्रेस विधानअनुरुप चलेमा र अवसरको सदुपयोग गरेर अगाडि बढ्न सके अझ धेरै ठूला एवम् थुप्रै अवसर आउने उहाँको भनाइ छ । उहाँले कांग्रेस आफैँ सक्षम भएका कारणले पनि आगामी चुनावमा एक्लै जाने आँट गर्नुपर्ने बताउनुभयो ।

    कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुने उहाँको भनाइ छ । नेपाली कांग्रेस इलाम नगरपालिकाको नगर सम्मेलन उद्घाटन गर्न इलाम आउनुभएका उहाँले शुक्रबार सूर्योदय नगरपालिकाको फिक्कलमा समेत कार्यकर्ता भेटघाट गर्नुभएको थियो ।  (रासस)
 

प्रतिक्रिया