कांग्रेस सांसद सुनिल शर्मा गिरफ्तार, कारण अस्पष्ट

काठमाडौं। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य डाक्टर सुनिल शर्मालाई आज प्रहरीले पक्राउ गरेको छ।

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सांसद शर्मालाई पक्राउ गरेको नेपाली कांग्रेसले पुष्टि गरेको छ।

उनलाई पक्राउ गर्नुपरेको कारण भने प्रहरीले स्पष्ट पारेको छैन।

संसदको अधिवेशन जारी रहेका बेला सभामुखलाई जानकारी नदिई नै सीआईबीले सांसद शर्मालाई गिरफ्तार गरेको सांसद शर्माको निजी सचिवालयले जानकारी दिएको छ। वहालवाला सांसदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिनुपरे सभामुखसँग अनुमति लिनुपर्ने कानुनी प्रावधान छ।

सांसद शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको भनेर उनको पार्टी कांग्रेसका नेताहरूलाई जानकारी दिएको थाहा भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सांसद शर्माले म्यासेज गरेर आफूलाई काठमाडौंको मण्डिखाटारस्थित घरबाटै पक्राउ गरिएको जानकारी गराएको दृश्य टिभीसँग बताए।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।

प्रतिक्रिया