पद–पर्यटन

नुम्बुरको नामै चिज सर्किट

रामेछाप। नेपालमा अहिले बाह्य पर्यटक मात्र होइन देश भित्रै घुम्ने पर्यटकका संख्या पनि दिनदिनै बढ्दै गएको छ। आन्तरिक पर्यटक घुम्ने नयाँ गन्तव्यहरुको खोजी गरिरहेका छन्।  

Pokhariनयाँ ठाउँ घुम्न चाहने पर्यटकको लागि जटापोखरी र पाँचपोखरी क्षेत्र पद पर्यटनको राम्रो स्थान बन्न सक्छ। रामेछापको गोकुलगंगा तथा उमाकुण्ड गाउँपालिका क्षेत्र समेट्ने जटापोखरी क्षेत्र पछिल्लो समय नुम्बुर चिज सर्किटको नामले परिचित छ। गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पर्ने रस्नालुदेखि गुम्देलसम्मको क्षेत्र यस सर्किटमा पर्दछ। चौँरीको चिज खाँदै नुम्बुर हिमालको फेदीसम्म पुग्न सकिने भएकोले सो पदमार्गको नाम नै नुम्बुर चिज सर्किट राखिएको हो। 

यस क्षेत्रको भ्रमण पूरै पैदल गर्ने वा छोटो पदयात्रा गर्ने भन्ने कुरा घुम्न आउनेमा भर पर्दछ। रस्नालुबाट चुचुरे हुँदै देउराली निस्किएर घुम्दै जाने वा खहरेभन्दा माथिसम्म यातायात साधनमा गएर सोझै जटा पोखरी जाने भन्ने निर्णय घुम्न आउनेको समय र हिँडाइमा भर पर्दछ। 

यो क्षेत्रको भ्रमणमा शीतल मनोरम प्राकृतिक दृश्यावलोकन, हिउँ, झरना, हिमताल र कुण्डहरूको रमणीय अवलोकन तथा विभिन्न जडीबुटीको अवलोकन गरी, स्वादिलो आलु, चौँरी गोठको बसाईको अनुभव पनि लिन पाइन्छ। हिउँदमा हिउँ, चैत वैशाखमा विभिन्न जातका गुराँस र वर्षामा जताततै हरियाली यस क्षेत्रको विशेषता हो। 

रामेछापको सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा तीन दिनमा पूरा गरेर फर्कन भ्याइन्छ। गुम्देल लगायतका रामेछापकै अन्य स्थान घुम्न चाहने, लिखु खोलामा निर्माण भइरहेको विभिन्न जलविद्युत आयोजना हेर्न र दोलखाको जिरी, कालिञ्चोक लगायतका स्थानमा जान चाहनेले आफ्ना यात्रा अझ लम्ब्याउन सक्छन्। 
 
 तामाकोशी नदीको प्रमुख सहायक नदी खिम्ति खोलाको शीरमा छ जटा पोखरी। जटा पोखरीको पनि शीरमा छ पाँच पोखरी।  

गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल यात्रा सुरु हुन्छ। चुचुरेको देउराली हुँदा जानेले गुम्देलबाट पनि अर्को बाटो समातेर झर्न सक्छन्। 
 
Pokhari 1चुचुरेको खहरेबाट जाँदा भने जटापोखरी–पाँच पोखरी जाने मार्गको अन्तिम मानव वस्ती नै खहरे हो । त्यस पछि सुरु हुन्छ, ठाडो उकालो यात्रा। लेकको चिसो मौसम र मनोरम दृश्यले उकालोमा गर्मीको अनुभूति हुँदैन। लेक नचढेकोलाई भने केही असजिलो हुन्छ। ‘लेक नचढेकाले लसुन बोक्नु पर्छ, लसुनको पोटी खाँदै हिँडेपछि लेक लाग्ने डर कम हुन्छ, मकैको सातु र लसुनको पोटीले लेक लाग्न दिँदैन, अनि अकबरे खुर्सानीले चिसोमा शरीरलाई तातो बनाउँछ’, पूर्व गाउँपालिका उपाध्यक्ष समेत रहेकी चुचुरेकी राधिका श्रेष्ठले भनिन्। 

चार र पाँच घण्टाको उकालो पछि मानेडाँडा पुगिन्छ। डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र चरिरहेका चौँरीको दृश्य मनमोहक देखिन्छ । चौँरी गोठमा गोठालाहरूले गर्ने चौँरीको दूध, दही र मोही र दुर्खाको अतिथि सत्कार अझ बिर्सिनसक्नुको हुन्छ।  

मानेडाँडाबाट दुई घण्टाको धेरै तेर्सो र केही उकालो पार गरेपछि जटापोखरी पुगिन्छ। ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरी हिम ताल नै हो। यहाँ वर्षमा ६ महिना भन्दा बढी हिउँ जम्छ। चैतदेखि भदौ र असोजसम्म मात्र हिउँ पग्लन्छ। नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीयको भनाइ छ। 

जटापोखरीको माथि शीरमा पाँच पोखरी पर्दछ। जटापोखरीबाट पाँच पोखरी पुग्न आधा घण्टा लाग्छ । पाँचपोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ। पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाइमा छ। 

एउटै पोखरीमा बिच भागहरुमा प्राकृतिक रूपमा उठेका बाँधहरूले पोखरीलाई पाँच वटा कुण्डमा विभाजन गरेको छ। पाँच पोखरीको पनि जमिनमुनिबाटै निस्कन्छ र जटा पोखरीमा झर्छ। 

पाँचपोखरी र जटापोखरी भन्दा पनि माथि जानेले उमाकुण्ड गाउँपालिकाको भूत पोखरी, बहुला पोखरी लगायतका कुण्ड भेट्छन्। सो बाटो हुँदै गुम्देल निस्किएर चुचुरेको देउराली झर्न सकिन्छ। जनै पूर्णिमाको दिन जटा पोखरीमा ठूलो मेला लाग्छ । जनैपूर्णिमाको दिन मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुङ्गा, सोलु लगायतका विभिन्न स्थानका मानिसहरू पुग्छन्। पोखरीमा नुहाए जनै फेर्ने प्रचलन छ। धामी झाँक्रीहरू पनि आफ्नो मन्त्रमा सिद्धि प्राप्त गर्न ढ्याङ्ग्रो बजाउँदै जनपूर्णिमामा सो ठाउँमा पुग्दछन्।  

पाँच पोखरी क्षेत्र जडीबुटीको भण्डार पनि हो। त्यहाँका हरेक झारपातमा औषधिको गुण छ। लोडसल्ला, सुनापाति, चिराइतो पाखनवेद, ठुलो ओखती, पाँच औँले, जटामसी, विषमार, लगायतका जडीबुटीको भण्डार सो क्षेत्रमा छ।  

सो क्षेत्रमा परम्परागत रूपमा पालिँदै आएका चौँरी पालनलाई व्यवसायीक बनाउन स्थानीय सरकारले केही काम सुरु गरेका छन्। सो क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएको चौँरी पालनलाई पकेट क्षेत्रको रूपमा विकास गरी गर्ने काम सुरु गरिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन्। त्यसको लागि किसानलाई तालिम र केही अनुदान गाउँपालिकाले दिन सुरु गरेको उनले जानकारी दिए। 

नुम्बुर सर्किट घुम्नको लागि त मनोरम छँदै छ, अन्य हिसाबले पनि त्यतिकै महत्त्वपूर्ण छ। जलविद्युत, जडीबुटी, आलु,चौँरी पालन लगायतको हिसाबले पनि यो क्षेत्र अति महत्वपूर्ण छ। तपाईँ पनि घुम्ने सोचमा हुनुहुन्छ भने एक पटक यो क्षेत्रको भ्रमण गर्ने कि!  – नेपाल न्यूज बैंक ।

प्रतिक्रिया