समाचार टिप्पणी

नेपाली कांग्रेसको पारदर्शी वैठक

एकसाता चलेको केन्द्रीय कार्यसमिति वैठक विसर्जन गर्दै सभापति शेरबहादुर देउवाले धेरै आलोचना होला भन्ने ठानेको भए पनि त्यति नभएकामा खुशी प्रकट गरे! प्रशन्नचित्तमा उनले भने, “धेरै आलोचना होला भन्ने लागेको थियो तर कम आलोचना भयो, यसका लागि धन्यवाद।”

सामाजीक सञ्जाल फेसबूकबाट प्रत्यक्ष प्रशारण गरेर आफूले गरेको बठ्याँईं सफल भएकामा सम्भवत सभापति देउवा मनमनै दंग थिए। उनको मुहारमा झल्किएको चमक बुझ्ने नेताहरुले नेपाली कांग्रेसको पारदर्शी वैठक देउवाको चतुर्याईंको ठोस उदाहरण हो भनेर बुझेका छन्।

खासगरी ती नेता जसले यसपाली धितमर्नेगरी सभापतिको कोटको धुलो झार्ने तयारी गरेका थिए। तर जब केन्द्रीय सचिवालयले प्रत्यक्ष प्रशारणको प्राविधिक तयारी पूरा भएको अवगत गरायो तात्तिएका ती सबै नेता ‘मर्यादाका खातिर’ औपचारिकतामा खुम्चिन वाध्य भए। 

सभापति देउवाले सबैखाले आलोचनाको गौंडा बन्द गराउन रचेको जाल प्रत्यक्ष प्रशारणले सफल भयो। विधान मिचेर ढिलोगरी बसेको केन्द्रीय समितिको वैठकको एउटा ठोस उपलव्धि यसैलाई मान्दा पनि फरक नपर्ने एक केन्द्रीय सदस्यले सुझाए। 

दुइ युवा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लामो कसरतपछि तयार गरेको प्रतिवेदनलाई प्रोत्साहन गर्ने भन्दा पनि दगल्च्याउने प्रयाश केन्द्रीय समितिमा देखियो। सभापति देउवाकी पत्नी आरजु देउवा महामन्त्रीको प्रतिवेदनको अस्तित्व स्वीकार्न निकै कष्ट मानिरहेकी थिईन्। केन्द्रीय सदस्य आरजुलाई ‘एनजिओको वीस पेपर’ जस्तो लागेको प्रतिवेदनलाई सभापति देउवाले भने मन्द ध्वनीमा स्वीकार गरेको देखियो। विधान अनुसार, नियमित वैठक गर्ने भन्दै सभापति देउवाले असोज २ गतेको वैठकको सूचना आफैंले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई वैठकमै सुनाएका थिए। 

महामन्त्रीको प्रतिवेदन संगठनलाई चलायमान वनाउने र विधान अनुसारको काम विलम्व नगरी सम्पन्न गर्ने भन्ने तर्फ नै केन्द्रीत रहेकोमा सभापति देउवाको समर्थन देखियो।

कतिपय केन्द्रीय सदस्यको प्रस्तुति केन्द्रीय समितिको वजन धान्न असमर्थ देखिन्थ्यो। कमसल खालका बिषयको चर्चा गर्ने र सभापतिको अनावश्य स्तूतिगान गर्ने त्यस्ता सदस्यहरुले भविष्यमा ठोस योगदान गर्ने कुराप्रति कांग्रेसजनलाई आश्वस्त पार्न नसकेको टिकाटिप्पणी सुनियो। उनीहरुको ज्ञानको सीमा थाहा पाएर आममानिसले कांग्रेसको नेतृत्व तहमा उभिन पुगेका नेताहरुको अध्ययन गर्ने बानी कमजोर हुँदै गएको निष्कर्ष निकालेको पनि देखियो। वैठक चलिरहँदा अधिकांश सदस्य अन्तिम परीक्षाको तयारी गरिरहेको विद्यार्थी जसरी मोवाईलमा मग्न देखिन्थे! प्रत्यक्ष प्रशारणले सभापतिलाई हानी नभएपनि ती सदस्यलाई भने लाभ पुगेको भन्न सकिएन। 

केन्द्रीय समिति वैठकको अर्को एउटा रोचक पक्ष के हो भने नेपाली कांग्रेसको गुटवन्दी झनझन छिप्पिँदै गैरहेको छ भन्ने स्पष्ट देखियो। जन्मदैदेखि अघोषित गुटवन्दी लिएर हुर्किएको नेपाली कांग्रेस अन्तत त्यही छिप्पिँदा फुटेको थियो। वर्तमान सभापति देउवाकै नेतृत्वमा फुटेर प्रजातान्त्रिक कांग्रेसका रुपमा शीर देखि पुछारसम्मै संगठन चिरा परिसकेको कांग्रेस छोटै समयमा एकीकरण भएको इतिहास सबैलाई जानकारी भएकै बिषय हो। पार्टी फुटाउँदा हुने लाभहानीको भलिभाँती अनुभव सँगालिसकेका नेता देउवाले दोस्रो पटक नेतृत्व गरिरहँदा पनि कांग्रेसभित्रको गुटवन्दी कमजोर हुँदै नगएर झनझन छिप्पिँदै गएको यो वैठकमा प्रष्ट देखियो। 

सभापति देउवाको रुचि अनुसार मनोनित भएका र उनका अन्धअनुयायीको प्रस्तुति चरम गुटवन्दीको सन्देश प्रवाह गर्न पर्याप्त देखिन्थ्यो। त्यसैगरी अर्को पक्ष जसलाई नेता शेखर कोइराला र महामन्त्रीहरुको गुट भनेर जानिन्छ, उनीहरुले पनि उसैगरी सन्देश प्रशार गरिरहेको देखियो।

यी दृश्य प्रत्यक्ष नियाल्न पाएका दर्शकले नेपाली कांग्रेसमा एकताको नारा एउटा कोरा शब्दसञ्जाल मात्रै हो भनेर निष्कर्ष निकाले भने त्यसलाई अन्यथा मान्न सकिँदैन। सभापति देउवाले जसको प्रेरणामा प्रत्यक्ष प्रशारण गरेगराए पनि यो केन्द्रीय समितिको वैठकले जबरजस्त यस्ता सन्देश देशका दूरदराजसम्म पुर्याएको छ। सभापति देउवाको जन्मस्थल गन्यापधुराका कांग्रेसजनले पार्टीमा उनको कमाण्ड बलियो भएको ठानेर हर्ष माने पनि देशभरका कांग्रेस पक्कै पनि यसबाट खुशी हुने छैनन्।  

‘कम आलोचना भयो’ भनेर ‘धन्यवाद’ दिँदै गर्दा सातौं पटक प्रधानमन्त्री बन्ने सपना सजाएर बसेका सभापति देउवाले आफ्नो सदिच्छामा सम्पन्न पारदर्शी वैठकले देशभरका जनताको आँखामा आफ्नो नेतृत्व कौशल कसरी जोखियो भन्ने पक्षलाई विर्सन मिल्दैन।

सभापति देउवाको अन्तरआत्माले यत्ति मात्रै स्वमूल्याङ्कन गरेमा उनको नेतृत्वको प्रभावकारिता विस्तार हुने सम्भावना अझै देखिन्छ।
 

प्रतिक्रिया