वीपी स्मृति भवनमा अर्जुनको अडान, आरजुको अहंकार र अजयको अपमान

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यसमितिको वैठक सञ्चालनको प्रत्यक्ष प्रसारण गर्न राजी भएपछि अज्ञात सूत्रहरुबाट आउने सूचनाको भरपर्ने परम्परा स्थगित भएको छ। अज्ञात सूत्रहरुले आफ्नो स्वार्थ अनुसार चुहाउने सूचनालाई विश्वास गर्नुपर्ने वाध्यता हटेपछि नेपाली कांग्रेसको वैठकको वृत्तान्त विवरण जस्ताकोतस्तै प्रकाशमा आउन सजिलो भएको छ। यसबाट वैठकमा एउटा भनाई र बाहिर सम्वाददाताहरुसँग अर्कै भनाई राख्न बानी परेका कतिपय नेतालाई पारदर्शि हुन जवजरजस्त दवाव परेको देखिएको छ।

अर्जुनको अडान

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवालाई संस्था नमान्ने भनेर प्रष्ट शब्दमा भनेको प्रत्यक्ष प्रसारण हेरिरहेका कांग्रेस र गैरकांग्रेस दर्शकहरुले सोझै सदृश्य सुन्न पाए। केसीले सभापति नै संस्था हो भन्ने हिसाबले कतिपयले धारणा राखेकोमा जवाफ दिँदै त्यो कुरा मान्न आफू तयार नरहेको जिकीर गरे।

‘सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ, संस्था भनेको विधि र पद्धतिलाई केन्द्रित गरेपछि प्रकट हुने संगठित आवाज हो, केसीले भने, ‘सभापतिलाई संस्था मान्ने सोच हामीले राख्न हुन्न। संस्थाको प्रमुख सभापति हो। विधि र नियम भए सभापति बलियो हुन्छ। सहमति भनेको आत्मसमर्पण होइन।’ 

नेताको तौल

सामाजीक सञ्जालबाट भएको प्रत्यक्ष प्रसारणले स्थानीय तहका नेता कार्यकर्तालाई आफ्नो क्षेत्र र अरु केन्द्रीय तहका नेतालाई तौलन पनि सजिलो भएको प्रतिक्रिया छ। जिल्लामा पुग्दा स्थानीयलाई दिने आश्वासन कति यथार्थ रहेछ भन्ने कुरा प्रत्यक्ष प्रसार भएको वैठकको विवरणबाट सोझै बुझ्न पाएर सबै प्रशन्न भएको पाईएको छ।

आरजुको अहंकार

‘देशको ठूलो नेताकी श्रीमति’ आरजु राणा देउवा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। हुन त उनी प्रतिनिधिसभामा समानुपातिक कोटाबाट मनोनित सदस्य पनि हुन्। तर केन्द्रीय कार्यसमितिको वैठकमा सदस्य पद नै उल्लेखनीय हुनेगर्छ। पदाधिकारी वाहेकका सदस्यहरु उमेर र योगदानले फरक पुस्ताका हुनसक्लान् तर पदीय हैसियतमा केन्द्रीय सदस्य नै गनिन्छन्। 

अजयबाबु शिवाकोटी पनि केन्द्रीय सदस्य हुन् अरु केन्द्रीय सदस्य जस्तै। केन्द्रीय समितिको वैठकबाट बाहिरिँदै गर्दा आरजुले नक्कली भूटानी शरणार्थी बिषयमा अजयले सार्वजनिक रुपमा टिप्पणी गरेको कुराको प्रतिक्रिया जनाउँदै धम्कीको भाषामा तीतो पोखिन्। सँगसँगै बाहिरिँदै गरेका अरु नेताले प्रत्यक्ष रुपमा उनको तीतो पोखाई सुने देखे पनि। अजयप्रति आक्रामक शैलीमा तीतो पोखिरहेकी आरजुलाई सुनिरहेका नेताले उनको आफ्नै मर्यादा नराखेको र अजयको समेत मानमर्दन गरेको प्रतिक्रिया दिएका थिए।

केन्द्रीय समितिमा आफूसरहको नेताले दिएको प्रतिक्रियालाई पचाउन नसकेर तीतो पोखेकी आरजुले त्यहाँ अहंकार रोक्न नसकेको प्रष्ट देखिएको प्रत्यक्षदर्शीको भनाई थियो।

मीनको मनसाय

आरजुले अजयसँग तीतो पोखेको सन्दर्भसँग मिल्दोजुल्दो निर्णय कांग्रेसको प्रचार विभागका नयाँ अध्यक्ष मीन विश्वकर्माले गरेका छन्। उनले प्रचार विभागका पत्रकार सदस्यहरुको वैठकमा ‘कसैले पनि नेपाली कांग्रेसको नेतृत्व विरुध्द वोल्न आलोचना गर्न पाउने छैन’ भनेर नीतिगत निर्णय गराएका छन्। यो निर्णयको अक्षरशः समर्थन गर्दै ‘प्रजातन्त्रवादी पत्रकार’ ले हस्ताक्षर गरेका छन्। यही निर्णयको आधार लिएर आरजु देउवाले अजय शिवाकोटीको भनाई विरुध्द सार्वजनिक रुपमै पार्टी कार्यालयमै तीतो पोखिसकेकी छन्। कुनै कम्युनिस्ट पार्टीको जस्तो लाग्ने निर्णय गरेर मीन विश्वकर्माले पनि ‘प्रजातान्त्रिक पार्टीको छवि निर्माणमा योगदान’ गरेका छन्।

एनजीओको ह्याङ्गओभर

नेपाली कांग्रेसका सभापति देउवाले कार्यसमिति वैठकको प्रत्यक्ष प्रसारण गराएर आममानिसलाई लाभान्वित नै गरेका छन्। सम्वाददाताहरु त यसबाट पर्याप्त फाईदा उठाउन पाएर दंग नै होलान्। हरेक नेताको व्यक्तित्व तौलिन यसले ठूलै सहयोग गरिरहेको छ। केन्द्रीय सदस्य आरजु देउवालाई जतिको एनजिओ सञ्चालनको अनुभव अरु कसलाई पो होला र भन्छन् जानकार मानिसहरु। शक्तिशाली देशहरुसँग घनिष्ठ सम्वन्ध भएको राजनीतिक व्यक्तिलाई यो ठूलो कुरा पनि भएन। त्यसकारण महामन्त्रीहरुले पेश गरेको प्रतिवेदन आरजुलाई किन एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो भनेर कसैलाई पनि अनौठो लागेको देखिएन। एनजीओको ह्याङ्गओभरले नै उनलाई यस्तो लागेको हुन पनि सक्छ भनेर टिकाटिप्पणी भएको पाईन्छ।

गएको शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै आरजुले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको आरोप लाउँदै  महामन्त्री गगन थापाले प्रस्ताव गरेको वार्षिक कार्ययोजनालाई ‘यो राजनीतिक दस्तावेजभन्दा पनि एउटा एनजीओको विसलिष्टजस्तो लाग्यो, धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो प्रष्ट भएन,’ भनिन्।

सभापतिको प्रतिरक्षामा होडबाजी

केन्द्रीय समितिको वैठक वास्तवमा केन्द्रीय समितिको वैठक भन्दा बढी सभापतिको प्रतिरक्षाको प्रतिष्पर्धा जस्तो देखिएको छ। महामन्त्रीहरुले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा केन्द्रित भएर जसरी बहस होला भन्ने अपेक्षा गरिएको थियो, सदस्यहरुले त्यसमाथि बहस गर्न रुची देखाएनन् भन्दा अन्यथा हुने छैन। 

वैठकमा बोल्न समय पाएका सदस्यहरुले आफ्नो पक्षधरता अनुसार अभिव्यक्ति दिएका थिए। संस्थापन पक्षका सदस्यले नेतृत्वको वचाउ गर्दै सभापति पद नै जोखिमा परिसकेको जस्तो देखाएर अरुले चुनौति दिन नहुने जस्तो भनाई राख्न पछि परेनन्। अर्कोतिर नेता शेखर कोइराला र महामन्त्रीहरु गगन थापा तथा विश्वप्रकाश शर्मा निकट सदस्यहरुले प्रतिवेदनको प्रशंसा गर्दै सभापतिको असफलताको गीत गाउन कुनै कसर छाडेनन्।

नेपाली कांग्रेसभित्र बहस हुँदै आएको नेतृत्व परिवर्तनको भावनासँग तालमेल हुनेगरी प्रभावकारी भनाई राख्न यतिञ्जेल कुनै सदस्य प्रकट भैसकेका छैनन्। लगभग परम्परालाई नै निरन्तरता दिने शैलीमै सदस्यहरुका भनाई आएका छन्।

सेनाबारे अर्थपूर्ण मौनता  

देशमा जल्दबल्दा बिषयहरुमा एकजना पनि सदस्यले विस्तारमा विवरण प्रस्तुत गरेर केन्द्रीय कार्यसमितिमा छलफल गराउन सफल भएको देखिएन। सभापति पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जु खाणको नाम जोडिएको नक्कली शरणार्थी प्रकरण, ललिता निवासको जग्गा विवाद र हालै अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएको हालसम्मकै ठूलो परिमाणको सुन सम्वन्धमा कांग्रेसको केन्द्रीय समिति वैठकमा महत्वसाथ छलफल नै भएको छैन। अझ सर्वत्र चासो दिईएको बिषय हो नेपाली सेनाको संख्याबारे उठाईएको विवाद। यसमा त कांग्रेस सदस्यले चर्चा समेत गर्न आवश्यक ठानिरहको देखिएन। 

‘यी विषयमा यसपाली छलफल हुने सम्भावना छैन’ भनेर एकजना केन्द्रीय सदस्यले सेनाको संख्या बिषयमा कुनै पनि राजनीतिक दलको स्पष्ट धारणा नै नरहेको टिप्पणी गरे।   

केन्द्रीय समितिको वैठक समापन हुन बाँकी नै छ। समापन गर्दा सभापति देउवाले कसरी सम्वोधन गर्नेछन् त्यसैमा केन्द्रीय कार्यसमितिको सन्देश अल्झिएको छ। अन्यथा देशका चर्चित विषयमा प्रवेश नै नगरी पार्टीभित्रको शक्ति संघर्षको प्रतिष्पर्धा जस्तो मात्र देखिएर वैठक सकिनु नेपाली कांग्रेस जस्तो राजनीतिक दलका लागि कत्तिको सुहाउँदिलो विषय हो भन्ने टिकाटिप्पणी भैरहेको छ।

 
 

प्रतिक्रिया