कांग्रेस बैठक: अर्जुनलाई रोकेर गोपाललाई बोल्ने समय

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाले बोलिसकेपछि आफ्नो भनाई राख्न समय माग्दै उठेका नेता अर्जुजनरसिंह केसीलाई रोकेर अर्का नेता गोपालमान श्रेष्ठलाई बोल्न समय दिएका छन्। श्रेष्ठले गत संसदीय निर्वाचनको निर्वाचन परिचालन प्रतिवेदन विवरण बैठकमा सुनाएका थिए।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराए। बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि कार्यसूची तय गरेको थियो ।

केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीमाथि छलफल हुनेछ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको महामन्त्री शर्माले बताए।

त्यसपछि बैठकमा अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए।

 रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहेका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जीत कर्णले जानकारी दिए।

अभियानअन्तर्गत नेताहरुले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेका थिए। प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।

यसैगरी पार्टीका मूल्यमान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि शर्तमा कहिले पनि कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् ।


पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सो अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत थिए।
 

प्रतिक्रिया