केएमसीको हेटौँडा स्वास्थ्य शिविरमा २१ सय व्यक्तिको निःशुल्क उपचार

मकवानपुर । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मकवानपुरको हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। हेटौँडास्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो ।
   
हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले शिविर उद्घाटन गरेकी थिइन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्यक्त गरिन् । शनिबार सम्पन्न भएको शिविरमा २ हजार १ सय २० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले जानकारी दिए ।

   
KMC Pic

टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए । शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५१ जनाको दाँत फुकालिएको छ । 

शिविरमा उपचार सम्भव नभएका तथा गम्भीर समस्या देखिएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको केएमसीका महाप्रवन्धक दाहालले बताए ।

 शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोली आएको थियो । स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा फड्को मार्दै गएको केएमसीले देशका बिभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएको छ ।

गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीकी अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।

 

प्रतिक्रिया