ललिता निवास प्रकरणमा ‘फरार’ दीप बस्न्यात नयाँदिल्लीमा

काठमाडौं। बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेका एक पूर्व सचिव दीप बस्न्यात भारतको नयाँदिल्लीमा रहेको जानकारी प्राप्त भएको छ। यस प्रकरणमा संलग्न भनिएका चार पूर्वसचिव विरूद्ध पक्राउ पुर्जी जारी गर्दा बस्न्यातलाई ‘फरार’ भनिएको छ। तर बस्न्यात नयाँदिल्लीमा रहेको विश्वस्त सूत्रले जानकारी दिएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरूद्ध पक्राउ पुर्जी जारी गरिएको नेपाल प्रहरीले जनाएको छ।

यीमध्ये पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत रहेका बस्न्यात भने फरार  भनिएका छन्। 

ललिता निवास प्रकरणमा चार जना पूर्वसचिवविरूद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो।

ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरू गरेको हो।
 

प्रतिक्रिया