समाचार टिप्पणी

जलहरीमा नामः पहेंलो धातु र सत्ताको सातु

काठमाडौं। राजनीतिक योगदान भन्दा धेरै प्रतिफल हात पारेर पनि तृष्णाको घैला नभरिएपछि विद्यादेवी भण्डारीलाई जलहरीको भित्री तहमा आफ्नो नाम लेखाउन कुनै संकोच लागेन छ! आराध्यदेव पशुपतिनाथको शिवलिङ्गमा राखिएको पहेंलो धातु सुनको जलहरीमा नाम लेखाउने नयाँ चलनको नेतृत्व गरेर विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा बढाईन् कि पित्तलको तहमा पुर्याईन्। यो बहसको बेग्लै बिषय हुने नै छ।

धर्मलाई अफिम भन्ने गँजडी दर्शनको अनुयायी विद्यादेवीलाई जलहरीमा नाम लेखाएर कस्तो किसिमको मोक्षको चाहना जागेर आएको हो भनेर खुट्याउन अरु त अरु माक्र्सवादी चिन्तनमा घोत्लिरहेका युवा अध्येताहरुले समेत मेसो पाउने सम्भावना देखिँदैन। 

जलहरीमा प्रयुक्त पहेंलो धातुको तौलमा शंका उब्जिएको थिएन भने त्यसमा कुँदिएका नामहरु कैयौं दशकसम्म शिवलिङ्गमुनि छोपिएरै रहन्थे होला। तर जब त्यसको परिमाणमाथि शंका उठ्यो, त्यसलाई लिएर सडक तात्यो, चियाचमेना गृहहरु ताते, सामाजीक सञ्जालमा सिंगो समाज उत्रियो बहसमा। यतिले मात्र नपुगेर संसद समेत मौन बस्न सकेन, विपक्षी दलका नेता केपी शर्मा ओली समेत बहसमा मिसिए। बहस चर्किँदै गएपछि सबै दलले आफूलाई निरपेक्ष राखिरहन सकेनन्।

अन्तत त्यो पहेंलो धातु राख्दाको सरकारको नेतृत्व स्वयं केपी शर्मा ओलीले नै गरेको कुरा खुलेपछि भने बहसले अर्कै मोड पक्रियो। पहेंलो धातुमा लेखिएका नामको दोस्रो वरियतामा स्वयं ओलीकै नाम रहेको खुलेपछि भने संसदभित्रै अप्ठेरो परिस्थिति उत्पन्न भएको देखियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी निकालेर नापतौल गरिसकेको छ भने आज साँझतिर पुनर्स्थापना गर्ने लक्ष्य राखिएको छ।

पहेंलो धातु त राखिने नै भयो तर त्यसभित्र नाम लेखाउनेहरुले अब नाम नराखे हुन्छ भनेर कसैले पनि भन्न चाहेनन्। यदि चाहेको भए सार्वजनिक जानकारीमा आउँथ्यो पनि होला। कतिपय कर्मचारी समेत यसमा मुछिएकाले सामसुम पारेर जलहरीमा लेखाएको नाम अभिलेख गरिछाड्ने योजना पनि होला!

जलहरीको तौलमाथि शंका उठ्यो र त्यो सर्वत्र फैलियो। मुखमा सातु हालेको मान्छेले फुपू भन्यो भने के हुन्छ? त्यही भयो जलहरीको चिरफार भयो अनि अंगअंग छुट्याएर जोख्नुपर्यो। स्वर्ण पात्रमा कुँदिएका नामहरु पनि सर्वत्र छरिए। अहिले यही कुराले सवैलाई पिरोलेको छ। मुखमा सातु थियो, फुपू भनियो अनि सातु छरियो!

सत्ताको सातु बुक्याउँदै पहेंलो धातुमा गुप्त रुपमा लेखिएको नाम उदांग हुनपुग्यो। पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रदीप ढकाल यही समयमा भ्रष्टाचारको मुद्दामा अभियुक्त हुनु संयोग भए पनि उनी पनि विकास कोषसँग सम्वन्धित बिषयमै आरोपित भएका देखिन्छन्। कोषको वर्तमान सत्तालाई समेत टाउको दुखाईको बिषय बनेका ढकालकै समन्वयमा स्वर्ण अक्षरमा नामहरु लेखिएको बताईन्छ। 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम वरियता अनुसार छँदैछ। त्यसपछि तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, तिनै सदस्य सचिव प्रदीप ढकाल, हालका सदस्य सचिव मिलन थापा, मूल भट्ट गणेश भट्ट र भट्टहरु राम, गिरिश र नारायण तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, परिषदका सदस्यहरु रवीन्द्रलाल राजभण्डारी र बलराम राजभण्डारीको नाम जलहरीभित्र लेखिएको छ। 

पशुपति विकास कोषका एक पूर्व पदाधिकारीले ती नामहरु जलहरीमा लेखिएको छ भन्ने कुरा आफूले अहिलेको विवाद सतहमा आएपछि मात्र थाहा पाएको सुनाए।

पशुपति क्षेत्रको सुरक्षामा संलग्न एक कर्मचारीले पूर्व सदस्य सचिव प्रदीप ढकालले श्रीयन्त्र गलत स्थानमा राखेर अपमान गरेको टिप्पणी गरेका छन्। श्रीयन्त्र जस्तो अत्यन्त शक्तिशाली बिषय हज्जारौं मानिसले कुल्चँदै हिँड्ने ठाउँमा राखेकाले ढकाललाई त्यसले नकारात्मक असर पार्न थालेको उनको बुझाई छ। जलहरीमा नाम लेखिएका सबैले त्यसबाट  उत्पन्न हुने नकारात्मक दैवी परिणाम भोग्न तयार रहनुपर्ने उनको तर्क छ। 

ढकाल सदस्य सचिव रहेकै समयमा पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राखिएको थियो। सुनको जलहरी राख्नेक्रममा सुनको तौल पूरा नभएको भनी प्रश्न उठाउने केही सदस्यलाई ढकालकै सिफारिसमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालले कार्बाही गरेका थिए। 

सदस्य सचिव ढकालले पशुपतिनाथको दर्शन गर्न जाने भक्तालुहरुसँग उठाईने प्रवेश शुल्कमा समेत हिनामिना गरेको बुझिएको छ। 

देवस्व हिनामिना गर्ने जो कोही पनि यसैगरी कार्बाहीमा पर्दैजाने एकजना ज्योतिषीले तर्क गरे।

प्रतिक्रिया