पशुपतिको शिवलिङ्गमा आज जलहरी राखिने

 काठमाडौं। पशुपतिको शिवलिङ्गमा आज साँझतिर जलहरी पुनर्स्थापित गरिने भएको छ। यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टिम त्यहाँ गैसकेको छ।  जलहरीमा जडित सुनको तौलमा सार्वजनिक आशंका व्यक्त भएपछि संसदमा समेत चर्को बहस भएको थियो। यही आशंका निवारण गर्न आइतबार शिवलिङ्गबाट जलहरी झिकेर विभिन्न निकायका प्रतिनिधिहरुको रोहवरमा तौलिईएको थियो। 

अख्तियारले पुरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर तौलिएको थियो।

आयोग नेतृत्वमा कडा सुरक्षा पहरावीच सोमबार बिहान २ बजेसम्म लगाएर सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।

त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो तौल भएको बताइएको छ। अख्तियारले भने सुनको परिमाण पुगेको नपुगेकोबारे केही बताएको छैन।

पशुपति क्षेत्र विकास कोषले १०७ किलो ७९८ ग्राम सुन प्रयोग भएको दावी गर्दैआएको छ।

त्यसका लागि उसले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७९३.१०० ग्राम शुद्ध सुन खरिद गरेको भनेको छ। त्यसमा तामा २ किलो ८८८ ग्राम, चाँदी १ किलो २५३ ग्राम र जिन्क १२ ग्राम ७५ मिलि ग्राम मिसावट गरिएको उसको भनाइ छ।

२०७८ फागुनमा अदालतको आदेश छल्न छिटो तयार पारी ९६ किलो ८२२ ग्रामको जलहरी हालिएको र त्यसको मुचुल्का तयार गरेको कोषले बताउँदै आएको थियो।

रिङ र बाँकी सुनको तौल १० किलो ९७६ ग्राम रहेको उसको दाबी थियो। महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ले यसबारे प्रश्न उठाएको थियो।

कोषले राष्ट्र बैंकबाट ८० करोड ११  हजारमा १०३ किलो ७७३ ग्राम खरिद् गरेको र बाँकी रहेको ७ करोड ८६ लाख ४६ हजार मूल्यको १० किलो  ९७६ ग्रामको रिङ्ग बनाउन प्रयोग भएको  बताउँदै आएको थियो। 
 

प्रतिक्रिया