जानकी। प्रत्येक वर्खामा कटान हुने बाँकेको राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो ।
सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत रु दुई करोड बजेट निकासा भएको छ । “सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पु¥याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ”, सांसद केसीले भने ।
विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताए । राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूल्ठूला ढुङ्गा नदी छेउमा राख्ने गरिएको उनले बताए । उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ ।
उनले ठूला ढुङ्गा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुङ्गा नराखिने बताए । कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ ।
पूर्वमन्त्रीसमेत रहेका कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताए । “करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ ।”
नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उनको भनाइ छ । राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ । विसं २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो । (रासस)
प्रतिक्रिया