मनसुनको सुरुमै बाढीपहिरोबाट १३ को ज्यान गयो, २६ वेपत्ता

काठमाडौं। मनसुनको सुरुआतमै बाढीपहिरोले १३ जनाको ज्यान लिएको छ भने २६ जना हालसम्म वेपत्ता छन्। 

भारी वर्षा हुने अनुमान नै नगरी बसेका स्थानीय प्रशासनले आकस्मिक रुपमा आएको बाढीपहिरोमा तत्काल उध्दार समेत गर्न सकेनन्।

प्रतिनिधिसभाको दीगो विकास तथा सुशासन समितिको बैठकमा आज यसबारेमा छलफल भएको छ। यसवीच विभिन्न भूभागमा आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ। 

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएका थिए। क्षतिको अन्य तथ्याङ्क आउन बाँकी रहेको उनले बताए।  

बाढी, पहिरो, प्राकृतिक विपत्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको बारे समितिमा छलफल भएको थियो। अघिल्लो आर्थिक वर्ष करिब रु एक अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको पनि बैठकमा जानकारी गराईयो। 

प्राकृतिक प्रकोप र त्यसले पुर्याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयकोतर्फबाट स्पष्ट पार्ने कार्यक्रम रहेको थाहा भएको छ। 

प्रतिक्रिया