नक्कली शरणार्थी काण्डः अभियुक्तलाई थुनछेकको टुंगो लाग्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्तमध्ये को को थुनिने भन्ने निर्णय आज टुंगो लाग्ने छ। यो काण्डमा आज सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने छ।

प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन असफल भएको जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको बहस सकिएको छ। न्यायाधीश न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने सम्भावना छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ।

मंगलबार नै आदेश गर्ने सम्भावना रहेपनि शरणार्थी प्रकरणमा थुनामा रहेका व्यक्तिहरूको पक्षमा बहस लम्बिएको थियो। पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेमध्ये एक आदेश जिल्ला अदालत काठमाडौंले गर्नेछ।

आरोपितहरूको भूमिका, संलग्नता, प्रमाणका आधारमा इजलासले हिरासतमा रहेकालाई एकै प्रकारको आदेश नगर्न पनि सक्छ। उनीहरूलाई फरकफरक आदेश हुन सक्छ। शुक्रबार थुनछेक आदेशपछि मात्र अदालतमा मुद्दाले प्रवेश पाउनेछ। मुद्दामा जिल्ला अदालतबाट आदेश हुन भने केही समय लाग्नेछ। जिल्ला अदालतले गरेको थुनछेक आदेशमा चित्त नबुझे दुवै (आरोपी र सरकारी वकिल) पक्ष पुनरावेदनका लागि उच्च अदालत जाने बाटो खुल्नेछ।

घटनामा संलग्न १२ जना अझै फरार छन् भने विभिन्न मितिमा पक्राउ परेका १८ जना हिरासतमा छन्। पक्राउ परेका रायमाझी, खाणसहितलाई रिहाको आदेश हुन सक्ने भन्दै विभिन्न पक्ष र समूहले माइतीघरमा प्रदर्शन गर्दै आएका छन्।

शरणार्थी काण्डमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संलग्न रहेको आरोप लगाउँदै मानवअधिकार तथा शान्तिसमाजले बिहीबार संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले मानवअधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडीसहितलाई नियन्त्रणमा लिएको थियो।

नेपाली भाषी भुटानीहरू आफ्नै सरकारको अत्याचार सहन नसकेपछि नेपाल आएका उनीहरू लामो समयदेखि झापाको विभिन्न शिविरमा बस्दै आएका थिए। उनीहरूको तेस्रो मुलुकमा व्यवस्थापन गर्ने समझदारी भएको थियो। सोहीअनुसार उनीहरूलाई अमेरिका पठाइएको थियो। केही शरणार्थी छुटेको भन्दै बन्द भइसकेको कार्यक्रमलाई फेरि सञ्चालनमा ल्याउने उद्देश्यले कार्यदल बनाइएको थियो।
 

प्रतिक्रिया