सरकारी कर्मचारीलाई टिकटक बनाउन रोक, नटेरे कार्बाहीको चेतावनी

काठमाडौं। निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए मन्त्रालयले उनीहरुमाथि कारबाही गर्ने भएको छ।

आफू मातहतका कर्मचारीलाई यस्तो चेतावनी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने निर्णय गरेको हो।

मन्त्रालयले सूचना पाटीमा यस्तो चेतावनी सन्देश भएको सूचना टाँसगरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ।

कार्यालय समयमा कार्यालयको औपचारिक पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए।

भट्टराईले भने, “कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ।” 

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।


 

प्रतिक्रिया