भारतमा भयानक रेल दुर्घटना हुँदा २२३ जनाको मृत्यु, ९ सयभन्दा बढी घाइते

भारतको ओडिशाको बालासोर जिल्लामा एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् ।

चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठाेकिँदा भएको दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया