प्रधानमन्त्रीको भारत भ्रमणः सतहमा नदेखिएको सबैभन्दा ठूलो एजेन्डा

काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्यप्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएर पूजाअर्चना गरेका छन्। उनी नयाँदिल्लीबाट आज बिहान महाकालेश्वर गएका थिए। 

प्रधानमन्त्री दाहालले महाकालेश्वरमा चढाएको १०८ थान रुद्राक्षको मालामा धार्मिक धागोले दीर्घकालिन राजनीतिक रणनीति उनिएको बुझिएको छ। नेपालको संविधानबाट धर्मनिरपेक्ष शब्द विस्थापित गर्ने निकट भविष्यको योजना अनुसार गम्भीर

Rudrskshyaपरामर्शपछि प्रधानमन्त्री दाहाल रुद्राक्षको माला बोकेर महाकालेश्वर मन्दिर पुगेको उच्च राजनीतिक सूत्रले बताएको छ। 

आउँदो वर्ष भारतमा संसदीय निर्वाचन हुने छ। विगतका दुइ निर्वाचनमा विजय प्राप्त गरेको भारतीय जनता पार्टी आगामी निर्वाचनमा विगतको भन्दा उल्लेख्य मत ल्याएर बलियो सरकार बनाउने रणनीतिमा क्रियाशील देखिन्छ।

बिना जनमत परीक्षण नेपाललाई हठात् धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि असन्तुस्ट बनेको विश्वको हिन्दू जनमतलाई प्रशन्न तुल्याउन यसलाई सच्याउनुपर्ने आवश्यकता महसुश गरिएको सूत्रले बताएको छ। प्रधानमन्त्री दाहालसँग यस बिषयमा अनौपचारिक परामर्श पनि भैसकेको र राजनीतिक सहमति बनाएर संविधान संशोधनको पहल गर्ने सरसल्लाह भएको बताईएको छ। 

पहिलो पटक प्रधानमन्त्री बन्दा भैंसी पूजा गरेर सत्ताको साँचो समाएका प्रधानमन्त्री दाहालले पोशाकमा पनि टाईसूटबाट दौरासुरुवाल हुँदै पूजाआजामा समेत सरिक हुनथालेका छन्। अहिले भारत भ्रमणमा रहेका दाहालले १२ ज्योतिर्लिङ्गको एक महत्वपूर्ण स्थलमा रुद्राक्ष चढाउने कार्य सम्पन्न गरिसकेका छन्।

दुइ ठूला दललाई सत्ता बाहिर राखेर तेस्रो हैसियतको आफ्नो दललाई सरकारको नेतृत्व दिलाउन सफल दाहाल धार्मिक मसलाको उपयोग गर्दै सत्ता नेतृत्वलाई निरन्तरता दिने रणनीतिक मार्गमा गतिशील देखिन्छन्। सम्भवत नेपाल र भारतका प्रधानमन्त्रीवीच एकल वार्ताका अवसरमा यस बिषयमा सहमति बनेको हुनसक्ने समाचार सूत्रको भनाई छ।

संयोगको कुरा के भने विगतमा नेपालको संविधान जारी हुनुअघि नयाँदिल्लीको निमन्त्रणा मान्न त्यता गएका दाहाल र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मनिरपेक्ष नलेख्ने भारतको संस्थापनलाई वचन दिएर स्वदेश फर्किएका थिए। संविधान निर्माणलाई नजिकबाट नियालेको एक उच्च सूत्रले बताएअनुसार, काठमाडौं फर्किएपछि दाहाल र देउवा नयाँदिल्लीलाई दिएको वचनमा टिक्न सकेनन्। बाबुराम भट्टराईले उनीहरुको भनाईको ठाडो विरोध गरे। उनको विरोधलाई एमाले अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समर्थन गरे। त्यसपछि संविधानमा धर्मनिरपेक्ष नै लेखिएको सूत्रको भनाई छ। 

अहिले प्रधानमन्त्रीका हैसियतमा भारतको औपचारिक भ्रमणमा रहेका दाहाल र उनलाई समर्थन गर्ने ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा देउवा रहेका बेला नै संविधान सच्याउने उपयुक्त अवसर भएकाले यसको उपयोग गर्ने गृहकार्य भैरहेको बताईएको छ। सतहमा नदेखिएपनि प्रधानमन्त्री दाहालको भारत भ्रमणको सबैभन्दा महत्वपूर्ण एजेन्डा नै नेपालको संविधान सच्याएर धर्मनिरपेक्ष हटाउनु रहेको सूत्रको भनाई छ। 

प्रधानमन्त्री दाहाल नयाँ दिल्लीबाट हवाई मार्गबाट इन्दौर ओर्लिएर सडक मार्गबाट उज्जैन पुगेका थिए। इन्दौरको अहलियाबाइ होलकर बिमानस्थलमा प्रधानमन्त्री दहाललाई मध्य प्रदेशको राज्यपाल मंगुभाइ पटेल, मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए।  प्रधानमन्त्री दाहालले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने मध्य प्रदेशको उज्जैन स्थित महाकालेश्वर मन्दिरमा ११ बजे पुजाअर्चना गरेका थिए।

प्रधानमन्त्रीको अतिविशिष्ट ’प्रोटोकल’का कारण महाकालेश्वर मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि बिहान ६ बजेदेखि १२ बजेसम्म ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाईएको थियो।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको थियो। सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको थियो।

प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरमा चढाएको १०८ किलो रूद्राक्षको माला नेपालबाटै लगिएको हो।


प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने छन्।
 

प्रतिक्रिया